राजनीति

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले, दुई मुलुकको सम्बन्ध अझै विस्तार हुने : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमण छिट्टै हुने बताएका छन् । प्रधानमन्त्री ओलीले सीको नेपाल भ्रमण मितिबारे भने खुलाएनन् ।मित्र राष्ट्रसँगको आपसी मित्रता अभिवृद्धि गर्ने उद्देश्यले नै सीको नेपाल भ्रमण हुने उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भ्रमण अन्य विषयभन्दा बढी आपसी सम्बन्ध विकास र सुमधुर बनाउनेमै केन्द्रित हुने बताए ।

मित्र राष्ट्रसँगको सम्बन्धमा लाभ हानिको हिसाब किताब नहुने उनले बताए । चीनका राष्ट्रपति सीको उच्चस्तरीय भ्रमणले दुई मुलुकबीचको सम्बन्ध बहुआयामिक बनाउन सहयोग पुग्ने उनले बताए ।‘उच्चस्तरीय भेटघाटमा लाभ–हानिको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिनेछु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसिलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै तर सपिङ लिस्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ ।’

चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिँदै उनले दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास व्यक्त गरे । ‘महामहिम राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमण एकदम सफल हुन्छ’, उनले भने ।नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दुई पार्टीबीच आपसी सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’मा गयो भन्नु आफूहरूलाई बदनाम गर्ने प्रयास हो भन्दै बुद्धिजीवी भइकन अबौद्धिक तर्क गर्नेप्रति आफूलाई दया लाग्ने बताए ।

‘हाम्रा आवश्यकताअनुसार हामी अगाडि बढ्छौं, सी पथमा नेपाल गयो भन्नु संकीर्णता हो, विचार शून्यता हो, असहिष्णुता हो,’ उनले भने । भारतीय स्वतन्त्रता संग्राममा सुवासचन्द्र बोसको क्रान्तिकारी विचार र महात्मा गान्धीको शान्तिपूर्ण धार दुवै ठीक रहेको प्रसंग उल्लेख गर्दैै उनले सबैका विचार अध्ययन गरेर नेपालको परिस्थिति, आवश्यकता एवं परिवेशअनुसार लागू गरिने स्पष्ट गरे ।

नेपाल अन्तर्राष्ट्रिय जगतमा सुनिन र देखिन थालेको हो त भन्ने पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय हित, न्यायोचित र अन्तर्राष्ट्रिय उत्तर दायित्वका साथ अन्तर्राष्ट्रिय सम्बन्धमा ध्यान दिएको जनाए । नेपाल स्वाधीन मुलुकका रूपमा विगतदेखि रहे पनि त्यस स्वाधीनतालाई खुम्च्याएर आफंै प्रयोग नगर्ने स्थितिबाट अहिले बाहिर निस्किएको जिकिर गरे ।

‘नेपालले आन्तरिक र बाह्य रूपमा स्वतन्त्र रूपमा आफ्नो स्वाधीनताको अभ्यास गर्न थाल्यो, गरिरहेको छ । त्यसकारण नेपाल देखिन र सुनिन थालेको छ । हामी कतै झुक्दैनौं, कतै ढल्कँदैनौं । नेपाललाई भूपरिवेष्ठितबाट भूजडित, जलजडित, हवाइजडित र सञ्चारजडित बनाउन लागेका छौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले नेपालले छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको तथा अन्तर्राष्ट्रिय सम्बन्ध पनि माथि उठेको उल्लेख गरे । ‘नेपाल अन्तर्राष्ट्रिय मञ्चमा सुनिन थालेको वास्तविक हो’, उनले भने ।नेपालको राष्ट्रिय छवि वृद्धि भएकामा ढुक्क हुँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल नेपालको रूपमा आफ्नो स्वतन्त्र आधारभूत नीतिमा उभिन्छ । हामी क्षणिक लाभमा बहकिएर हामी हिँड्दैनौं । राष्ट्रिय हित, चरित्र र स्वाधीनताका लागि काम गर्छांै ।

हाम्रो सार्वभौमिकता, विश्वबन्धुत्व, शान्तिको पक्षधरता, न्यायपूर्ण विश्व व्यवस्थाका नीति, संयुक्त राष्ट्रसंघका बडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलका सिद्धान्तमा हामी अडिग रहन्छौं ।’उनले गत वर्षको राष्ट्रसंघको महासभामा आफूले गरेको सम्बोधनमा उठाइएका विषयलाई राष्ट्र संघीय महासचिव एन्टोनियो गुटेरेसले समापनमा अवसरमा महŒव दिई स्मरण गर्नु एवं उल्लेख गर्नुलाई पनि महŒवपूर्ण मान्नुपर्ने उनको तर्क थियो ।

कर्मचारीलाई स्ट्यान्डबाई रहन सर्कुलर

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सरकारले सबै मन्त्रालयका कर्मचारीलाई स्ट्याडबाईमा राख्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै २१ वटै मन्त्रालयलाई सर्कुलर गर्दै दसंै पर्वको बिदामा पनि आफू मातहतका कर्मचारीलाई आवश्यक परेको समयमा स्ट्यान्डबाई राख्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार दसैं बिदाकै समयमा पनि आवश्यक पर्दा कर्मचारी आउन पर्न सक्ने गरी व्यवस्थापन गर्न मन्त्रालयलाई पत्राचार गरिएको छ । नछोड्न सर्कुलर गरिएको छ । दसैं मान्न जानेलाई पनि २२ असोजमा नै फर्कन भनिएको छ ।सीको भ्रमण हुनै लाग्दा नेपाल र चीन दुवै मुलुकले तयारी तीव्र पारेका छन् । राजधानी काठमाडौंका महत्त्वोपूर्ण सडक खण्ड रातारात पिच गर्न थालिएको छ ।

राष्ट्रपति सीको भ्रमणको तयारीस्वरूप बुधबार चीनबाट ७४७–८०० विमान रेकीका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी पुनः बेइजिङ फर्केको थियो ।राष्ट्रपति सीको भ्रमणको विषयमा विभिन्न अध्ययन तथा तयारी भएको भए पनि औपचारिक मितिको भने घोषणा गरिएको छैन । सुरक्षालाई ध्यानमा राखेर मिति घोषणा नगरिएको हो ।

सीको नेपाल भ्रमणलाई उच्च कूटनीतिज्ञहरूले समेत विशेष चासोका साथ हेरेका छन् । २३ वर्षपछि चीनको उच्चस्तरीय भ्रमण हुन लागेका कारण पनि यसलाई महत्त्वोका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *