अर्थतन्त्र

दसैं समाजको लागि मात्र होइन , अर्थतन्त्रको लागि पनि सकात्मक


काठमाडौं : नेपालीको महान चाड दसैंलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकसहित स्वागत गर्छ। दसैं नजिकिँदै गर्दा बजारमा हरेक वर्ष झैं चहलपहल बढेको छ। किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिजलगायत इलेक्ट्रोनिक्सका व्यापार अधिक हुन्छ। वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल÷रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी हुन्छ। दसैं र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न अफर सार्वजनिक गरिरहेका हुन्छन्।

उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दसैंमा उपभोग हुने अनुमान गरिएको छ। लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशीर्वाद लिने दसैं पर्वमा मानिसले धक फुकाएर खर्च गर्छन्। फलस्वरूप, यसले बजारमा बहार ल्याउँछ र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छ।

घरयासी खर्चको एकतिहाइ दसैंमा खर्च हुने गरेको अनुमान गरिएको छ। जसले गर्दा व्यवसायीमा दसैंको अवसर पारेर वस्तु र सेवाको व्यापारका लागि भगिरथ प्रयत्न गर्छन्। ‘दसैंको व्यापारले वर्षभरीको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ’, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल सचिव अनुपकुमार बराल भन्छन्। टिकाउ वस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायत (ड्युरेबल्स) का खरिदकर्तालाई दसैंको अफर नै पर्खेर बस्ने बानी लागिसकेको छ। अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल÷रेस्टुरेन्टले दसैं लक्षित प्याकेज बिक्री गर्न थालेका छन्।

केन्द्रीय तथ्यांक विभागका अनुसार गत आर्थिक वर्षमा कुल घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ छ। चालु आर्थिक वर्षमा यस्तो घरायसी खर्च झन्डै २४ खर्ब रुपैयाँ पुग्ने अनुमान छ। ‘यस हिसाबले वर्षभरीको उपभोग खर्चको एकतिहाइ उपभोग खर्चले दसैंमा करिब आठ खर्ब रुपैयाँ हुने अनुमान गर्न सकिन्छ’, अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन, घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछामासुसमेत बुझिन्छ।’

अर्कोतर्फ, हाम्रो अर्थतन्त्रको झन्डै ४० प्रतिशत हिस्सा अनौपचारिक अर्थतन्त्र भएकाले बजारको कारोबार अर्थात् औपचारिक कारोबार भने झन्डै पाँच खर्च हाराहारीमा हुन्छ। ‘कुल उपभोग खर्चको ६० प्रतिशत बजारको कारोबार (औपचारिक कारोबार) हुने अनुमान गर्न सकिन्छ’, आचार्य भन्छन्।

दसैंले बजारलाई गुलजार बनाउने भएकाले फूलपाती अघिसम्म विक्रेताले छुट र उपहारका विविधि स्किम ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेका छन्। उपत्यका र बाहिरका पुराना बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दसैं केन्द्रित किनमेलको चाप बढ्दो छ।

दसैंमा आफ्नो उपभोगमात्र होइन, उपहार दिने चलन पनि हुन्छ। जसले गर्दा ड्युरेबल्सको खपत बढ्दो छ। ‘पहिले–पहिले सभ्रान्तले मात्र आफ्ना घरपरिवार र आफन्तलाई सवारीसाधन, गरगहनालगायत उपहार दिने चलन थियो’, मेरिगोल्ड ज्वेलर्सकी प्रोप्राइटर ज्योत्सना श्रेष्ठ भन्छिन्, ‘नेपालीको आयस्तरमा वृद्धि र क्रयशक्ति वृद्धि भएसँगै मध्यम वर्गमा पनि यो संस्कार बढोत्तरी भएको छ।’ नेपाली समाजमा सामान्य आय हुने व्यक्तिले पनि लत्ताकपडा, गक्षअनुसार गरगहना उपहार दिने चलन बढ्दो छ।

ज्वेलरी व्यवसायीका अनुसार बढी गरगहनाको व्यापार हुने समय भनेको तिजदेखि तिहारसम्म हो। दसैंमा गैरआवासीय नेपाली दसैं मनाउन आउने तथा वैवाहिक कार्यक्रमसमेत हुने कारणले गर्दा गरगहनाको व्यापार बढी हुने श्रेष्ठ बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *