समाचार

पूँजी बजारमा आपूर्ति बढेको बढ्यै, एक महिनामै २१ झन्डै साढे २३ अर्बको शेयर थपियो


शेयर बजार घटेर तल्लो बिन्दुमा झरेर माग सिर्जना नभएपनि पूँजी बजारमा शेयर थपिने क्रम भने बढ्दो रहेको छ। चालु आर्थिक बर्षको साउन महिनामा मात्रै २१ नयाँ कम्पनीको साधारण शेयर, हकप्रद र डिबेञ्चर सहित कूल २३ अर्ब ४६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबारका लागि सूचीकृत भएका छन्।

नेपाल राष्ट्र बैंकका २० अर्ब ६४ करोड बराबरको साधारण शेयर र २ अर्ब ६७ करोडको बोनस शेयर तथा १५ करोड बराबरको डिबेन्चर सूचीकृत भएको छ भने धितोपत्र बोर्डले एक अर्ब बराबरको डिबेञ्चर निश्कासनको अनुमति प्रदान गरेको छ ।

सरकारी तवरबाट शेयरको माग सिर्जना गर्ने संस्थागत लगानीकर्ता तथा सर्वसाधारणलाई समेत आकर्षित गर्ने नयाँ कार्यक्रम ल्याउन नसक्दा नेप्से सूचक निरन्तर दबाबमा रहने गरेको लगानीकर्ता बताउँछन्।

यसैगरि २०७५ साउन मसान्तमा १२१०.३ बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०७६ साउन मसान्तमा १.१ प्रतिशतले वृद्घि भई १२२४.० बिन्दुमा कायम भएको छ। २०७६ असार मसान्तमा यस्तो सूचकाङ्क १२५९.० रहेको थियो ।

धितोपत्र बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा ७.७ प्रतिशतले वृद्घि भई २०७६ साउन मसान्तमा १५ खर्ब ५१ अर्ब ६० करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो।

साउन महिनासम्मको तथ्यांकको आधारमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको धितोपत्र बजार पूँजीकरणमा ७७.९ प्रतिशत हिस्सा रहेको छ। त्यसैगरी जलविद्युत कम्पनीहरुको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ४.१ प्रतिशत, होटलको १.७ प्रतिशत र व्यापारिक संस्थाको ०.१ प्रतिशत तथा अन्य समुहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

यस अवधिमसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेड सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेको छ। एक बर्षको अवधिमा नेप्सेमा २१ वटा नयाँ कम्पनी थपिएका छन्। अघिल्लो साउनमा सूचीकृत कम्पनीहरुको संख्या १९६ थियो ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ वटा जलविद्युत कम्पनी, १९ वटा उत्पादन तथा प्रशोधन उद्योग, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समुहका कम्पनीहरु रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *