समाचार

राष्ट्र बैंक द्वारा दशैंमा नयाँ नाेट जतन गर्न अनुरोध -: वेवास्ता गरे कारवाही !

नेपाल राष्ट्र बैंकले दशैंको समयमा नयाँ नोटमा रंग नलगाउन, केरमेट नगर्न र आकार नविगार्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै नयाँ नोटहरूलाई जतन गरेर चलाउन अनुरोध गरेकाे छ। राष्ट्र बैंकको अनुरोधलाई वेवास्ता गरी नोटलाई जथाभावी चलाए प्रचलित कानून अनुसार कारवाही गरिने बैंकले जनाएको छ ।

टीका लगाई दक्षिणा दिँदा या पूजाआजा गरेका हातले नयाँ नोट चलाउँदा रंगिन भई मैलिनसक्ने हुँदा सफा हातले नोट चलाउन अनुरोध गरिएको छ ।

राष्ट्र बैंकले असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गर्न लागेको हो।

नयाँ नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर,बीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पाइने छ।

यसैगरी राष्ट्रिय बाणिज्य बैंक , नेपाल बैंक, कृषि विकास बैंकका उपत्यकास्थित शाखा कार्यालयहरूबाट पनि वितरण गरिने छ । राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढीको नयाँ नोट वितरण गर्ने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *