राजनीति समाचार

सिंगापुरबाट फर्किएलगत्तै प्रधानमन्त्री सक्रिय


प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको उपचारपछि शुक्रबार स्वदेश फर्किएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेकाले आइतबारबाट प्रधानमन्त्री नियमित काममा सक्रिय हुने उनको सचिवालयले जनाएको छ । फर्केलगत्तै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग पार्टी र सरकारका कामबारे जानकारी लिएका छन् ।

थाई एयरवेजको नियमित उडानबाट अपराह्न १२ बजे आइपुगेका प्रधानमन्त्री ओलीलाई कार्यबाहक प्रधानमन्त्री पोखरेल, सभामुख कृष्णबहादुर महरासहित मन्त्री, सरकारका उच्चपदस्थ अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्रीको स्वागतका लागि सत्तारुढ नेकपाका नेता–कार्यकर्ताको ठूलो समूह विमानस्थल पुगेको थियो । विमानस्थलमा स्वागत ग्रहण गरेर उनी सीधै सरकारी निवास बालुवाटार प्रस्थान गरे । विदेशबाट फर्किंदा पत्रकारहरूसँग कुराकानी गर्ने प्रचलनविपरीत प्रधानमन्त्री ओलीले कुराकानी गरेनन् ।

प्रधानमन्त्रीसँगै नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, श्रीमती राधिका शाक्यसहितको टोली पनि स्वदेश फर्किएको छ । बालुवाटार पुगेको केही समयपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डसँग छुट्टै भेटवार्ता गरे । प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर पछिल्लो राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलबाट पनि मुलुकको पछिल्लो अवस्थाको ब्रिफिङ लिएका छन् । सिंगापुर प्रस्थान गर्नुअघि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बैठक बोलाएर निर्णय गर्न सक्नेगरी दोस्रो वरीयताका अध्यक्ष प्रचण्डलाई जिम्मेवारी तोेकेका थिए ।

आइतबारबाटै नियमित काम
कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

चिकित्सकहरूले शनिबारसम्म धपेडी हुने गरी काम नगर्न, नियमित भेटघाट कम गरेर केही आराम गर्न सुझाब दिनुभएको छ । तर, आइतबारबाट उहाँ कार्यतालिकाअनुसार सक्रिय हुनुहुनेछ । आइतबारपछि चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्तादेखि पेट्रोलियम पाइपलाइन उद्घाटनसम्बन्धी तयारी बैठकलगायतमा उहाँ सहभागी बन्नुहुनेछ ।

‘स्वास्थ्य अवस्था सामान्य’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित काममा सक्रिय हुन सक्ने अवस्था रहेको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले जानकारी दिएकी छिन् । ‘उहाँको शरीरमा बढी मात्रामा रहेको ‘एन्टिबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयुएचमा पूरा भएको छ,’ डा. सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल उहाँको अवस्था सामान्य छ र उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।’ मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली ५ भदौमा सिंगापुर गएका थिए । उनले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटल (एनयुएच)मा उपचार गराएका थिए ।

के हो प्लाज्मा फेरेसिस ?
मिर्गौला रोग विशेषज्ञका अनुसार रगतमा देखिने पारदर्शी वस्तु ‘प्लाज्मा’ले रातो र सेतो रगत, ‘प्लेटलेट्स’लगायतसँग लड्ने ‘एन्टिबडी’ बोक्छ । शरीरमा विभिन्न रोग बनाउने ‘एन्टिबडी’ हटाउने प्रक्रियालाई प्लाज्मा फेरेसिस भनिन्छ । यो प्रविधि सफल नभए मिर्गौलाले काम गर्न छोड्छ र बिरामीका अघि डायलाइसिस गर्ने या पुनः मिर्गौला प्रत्यारोपण गर्ने दुई मात्र विकल्प बाँकी रहने मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । प्लाज्मा फेरेसिस मिर्गौलाको कार्यक्षमता हेरेर गरिने चिकित्सकको भनाइ छ । कसैको दिन बिराएर गरिन्छ भने कसैको हप्ता दिनमा एकपटक गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *