बजार बैंक तथा बिमा

धेरै समय देखि प्रतिक्षा गरिएको मार्जिन कारोबारको गाँठो फुक्यो, लगानीकर्ताले अब ब्रोकरबाटै ऋण पाउने


शेयर लगानीकर्ताले धितोपत्र सदस्य दलाल ब्यबसायी (ब्रोकर) मार्फत मार्जिन कारोबार गर्न पाउने बाटो खुला भएको छ। धितोपत्र बोर्डबाट केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) स्वीकृत भएसँगै लामो समयदेखि प्रतिक्षारत मार्जिन काराबारको गाँठो फुकेको हो।

यससँगै अब शेयर लगानीकर्ताले सिधै ब्रोकर मार्फत शेयर कारोबारका लागि ऋण प्राप्त गर्न सक्नेछन्। मार्जिन कारोबार सुविधा सञ्चालनका लागि मार्जिन कारोबारको राफसाफ सम्वन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्ने हुन्छ।

हितग्राही खाता सञ्चालन सम्बन्धि कुनै व्यवस्था विद्यमान धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा नहुँदा मार्जिन कारोबार उपलब्ध गराउन नेप्सेबाट अनुमति पाएका एक दर्जन ब्रोकर कम्पनीले मार्जिन सुविधा उपलब्ध गराउन सकेका थिएनन्।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा आवश्यक संशोधन प्रस्ताव सहित बोर्डमा स्वीकृतिका लागि पेश गरेकोमा बजारको विद्यमान अवस्थालाई दृष्टिगत गरी मार्जिन कारोबार अविलम्व सञ्चालन गर्न आवश्यक देखिएकोले सो संसानेधन पारित गरिएको बोर्डले उल्लेख गरेको छ। यससँगै मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्पूर्ण पूर्वाधार तयार भएको बोर्डले जनाएको छ।

व्यवस्था बमोजिम सिडिएससिले मार्जिन कारोबार राफसाफ प्रयोजनका लािग हितग्राही खाता सम्बन्धीे व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउनुपर्ने बोर्डले जनाएको छ। नयाँ व्यवस्थामा राफसाफ सदस्यले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि कुनै निक्षेप सदस्य मार्फत मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न सक्ने व्यवस्था गरिएको छ।

मार्जिन कारोबार सुविधा सञ्चालनमा आएपश्चात धितोपत्र बजारको दायरा वृद्धि हुने तथा कारोबारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने अपेक्षा बोर्डको छ।

नेपाल राष्ट्र बैंकबाट क्रिस्टल कनचनजंघा (५०), कोहिनुर इन्भेष्मेन्ट एण्ड सेक्युरिटी (३५), आयतारा इन्भेष्मेन्ट एण्ड सेक्यूरिटी (५७), दक्षिणकाली इन्भेष्मेन्ट एण्ड सेक्युरिटीज (३३), दिव्य सेक्यूरिटी एण्ड स्टक हाउस (५९), दिपशिखा धितोपत्र कारोबार कम्पनी (३८), सेक्योर्ड सेक्यूरिटी (३६), भिजन सेक्युरिटी (३४), श्रीकृष्ण सेक्यूरिटी (२८), प्राइमो सेक्यूरिटी (१६) र नेपाल स्टक हाउस (१४) ले नेपाल राष्ट्र बैंकबाट मार्जिन कारोबारको अनुमति पाइसकेका छन् भने अन्य ब्रोकर कम्पनी पनि पाइपलाइनमा रहेका छन्। जसमध्ये ८ वटा ब्रोकर कम्पनीहरुले नेप्सेबाट मार्जिन कारोबारको प्रमाणपत्र समेत पाइसकेका छन्।

केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधनसँगै अब लगानीकर्ताले ब्रोकर कार्यालय मार्फत नै शेयर कारोबारका लागि ऋण लिनसक्ने बाटो खुला भएको हो।

मार्जिन कारोबारका लागि कार्यविधिमा यस्ता छन् व्यवस्था
धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको बोर्डले गरेको छ ।

धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यबस्था कार्यविधिमा छ ।

मार्जिन कारोबार गर्नलाई बजारको अवस्था तथा जोखिम हेरेर ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने हुन्छ। ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको शेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले सो सेयर बिक्री गर्न सक्नेछन् ।

धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतसम्म मात्र कारोवार सुविधा उपलब्ध गराउन सक्ने ब्यवस्था कार्यविधिमा छ ।

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा ग्राहकसँग सम्झौता गरी शुरु मार्जिन, सम्भार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरिद गर्ने शेयरको विवरणलगायतका शर्तहरु खुलाउनुपर्ने छ।मार्जिनको सुविधाबाट खरिद गरिएको शेयरसहितको मार्जिन रकम विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाइ राख्नुपर्ने कार्यविधिमा उल्लेख छ।

उक्त कारोबारको लेखापरीक्षण गरिएको कारोबार हिसाब किताब तथा लेखा बोर्ड र धितोपत्र बजारलाई पेश गर्नुपर्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *