अन्तरास्ट्रिय समाचार

जापानमा विदेशी कामदारमाथि अत्यधिक शोषण, विवादमा आप्रवासी कामदार योजना

स्टेफनी हेगार्टी
बीबीसी विश्व सेवा । जापानको सरकारी आप्रवासी कामदार योजनामार्फत् आएर अन्तर्राष्ट्रिय ब्रान्डका लागि कपडा बनाउने कारखानामा काम गरिरहेका विदेशी कामदारहरूले धेरै काम लगाइएको र कम ज्याला दिइएको आरोप लगाएका छन्।
हालैका दिनमा हजारौँ जापानी व्यवसायहरूले शोषण गरिरहेको विवरण बाहिर आएपछि सरकारी योजना विवादास्पद बनेको छ।
जापानले नेपाली कामदारहरूलाई जापानीसरह सुविधा दिन प्रतिबद्धता व्यक्त गर्दै नेपालबाट पनि कामदार लाने प्रक्रिया सुरु गरेको छ।

बीबीसीकी स्टेफनी हेगार्टीले यस्ता आरोप लगाउने केही कामदारहरूसँग भेटेकी छन्।

कष्ट

पानी पर्ला जस्तो एक बिहान एउटा पार्कमा महिला र पुरुषहरू शारीरिक अभ्यास गर्दै थिए। उनीहरू यस अपार्टमेन्टका बासिन्दा हुन्। टोकियोबाट चार घण्टाको यात्रामा पुगिने औद्योगिक सहरमा उनीहरू काम छाडेर भागेका र रोजगारदाताप्रति कामका विषयमा गुनासोहरू गरिरहेका छन्।

झाङले बिस्तारै आफ्नो पाखुरा उचालिन्, उनलाई निहुरिन गाह्रो भइरहेको थियो र उनको काँध निकै दुखिरहेको थियो। एकाउन्न वर्षको उमेरमा त्यहाँ काम गर्ने उनी अरूभन्दा निकै बूढी देखिन्थिन्। उनको कपाल खुइलिरहेको थियो। उनी कपडामा स्त्री लगाउने अनुभवी महिला हुन् जसले लामो समय जापान आउने सपना पालेकी थिइन्। छोराको बिहेको ऋण तिर्नु र उसलाई आफ्नो पहिलो घर किन्न सघाउनु उनको उद्देश्य थियो।

जब जापान सरकारले ‘इन्टर्नशिप’ कार्यक्रम भनिने सिकारु कामदारका लागि नियम परिवर्तन गर्दै काम गर्ने अनुमति दियो उनी निकै खुसी भएकी थिइन्।

सन् २०१५ मा उनले एउटा सानो कपडा उत्पादन गर्ने कम्पनीमा काम पाइन्। तर उनी भन्छिन्- काम निकै थकाउने खाले थियो। “मैले यति धेरै काम गरेँ कि मेरो टाउको दुख्थ्यो, मेरा खुट्टाहरू सुन्निन्थे,” उनले भनिन्। “मेरो टाउकोमा हुने पीडाले गर्दा म रातभरि रुन्थेँ।”

झाङले भनेअनुसार उनी सधैँजसो बिहान साढे ६ बजे काम थालेर मध्यरातमा मात्र सक्थिन्। अनि काम थालेको पहिलो छ महिनासम्म उनले एकदिन पनि बिदा लिइनन्।

शोषण

“हाम्रो साहुले चाहिँ के भन्थे भने हामीले जति धेरै सामग्रीहरू बनाउन सक्यौँ त्यति नै धेरै पैसा कमाउन सक्छौँ। त्यसैले हामीले निकै धेरै काम गर्यौँ।”

त्यहाँ झन्डै डेढ वर्ष काम गरेपछि उनले थप अवधि गरेको कामको पैसा नपाएको थाहा पाइन्। साहुले हरेक महिना उनको तलबको पैसा लिने गरेको तर फिर्ता दिने वाचा कहिल्यै पूरा नगरेको उनले सुनाइन्।
सोही समयमा उक्त कम्पनीमै काम गरेकी अन्य दुई महिलाले समेत त्यस्तै दाबी गरे। उनीहरूले आफूहरू लामो समय एउटै भवनभित्र काम गर्ने भएकोले हप्तौँसम्म बाहिर निस्कन नपाएको बताए।

रोजगारदाता कम्पनीले भने त्यस्तो दाबीलाई अस्वीकार गर्दै त्यसरी उनीहरूलाई समस्यामा पार्ने काम सम्भव नभएको बताएको छ। कम्पनीले झाङसहित शपिङ मलमा बसेर हाँस्दै आइसक्रीम खाइरहेको तस्बिर देखाउँदै ती विवरण झुटो रहेको पुष्टि गर्न खोजे।

सन् २०१७ को एक प्रतिवेदनअनुसार जापान सरकारले प्राविधिक प्रशिक्षार्थी कार्यक्रममा भएको दुर्व्यवहारलाई केही हदसम्म स्वीकारेको छ। जसमा प्राविधिक सिकारु कामदारहरूलाई काम लगाउने छ हजार कम्पनीमध्ये ७० प्रतिशतले तलब र थप समय काम लगाउनेजस्ता विषयमा श्रम कानुन उल्लङ्घन गरेको बताएको छ।

यो आश्चर्यजनक तथ्याङ्क हो। आप्रवासीबारे काम गर्ने अभियानकर्मीहरूले त्यस्तो समस्या खासगरी कपडा उद्योगमा रहेको बताउँछन्।

के भन्छन् रोजगारदाता?

झाङ् काम गर्ने कम्पनीको भनाइमा उनीहरूमाथि श्रमसम्बन्धी स्थानीय निकायले अनुसन्धान गरेको थियो र त्यसमा उनीहरूले सफाइ पाइसकेका थिए। तीनवर्षे जागिर अवधिको मध्यतिर झाङले आप्रवासीका पक्षमा वकालत गर्ने एकजना कानुन व्यावसायीलाई भेटिन्। जसले झाङ्लाई आफूले काम गरेको समयको विवरण सुरक्षित राख्न सुझाए।

उनीसँग च्यातिएका किताबकापीका पानाका चाङ थिए जसमा जताततै चिनियाँ अक्षरहरू थिए। उनको दाबीअनुसार कम्पनीबाट ५० हजार अमेरिकी डलर लिन बाँकी छ। “म यो सम्झँदा नै पनि काँप्ने गर्छु,” उनले सुनाइन्। “पछिल्लो तीन वर्षमा मेरो स्वास्थ्य निकै खराब भयो।”

त्यसलाई पनि उनको रोजगारदाताले अस्वीकार गर्यो। उनीहरूले थप समय काम गर्ने वा न्यूनतम ज्यालाका विषयमा आफूहरूले जापानको रोजगारदातासम्बन्धी कानुनबाट बाँधिएको बताए।

झाङले आफ्नो मोबाइलबाट खिचेका तस्बिरमा उनले काम गरेका लुगाका लेवल समेत देखाइन्। जसमा अन्तर्राष्ट्रिय डिजाइनरहरूका लेबलहरू- बार्निज न्यूयोर्क र कोम डे गार्सोँ आदि थिए।

यी लुगा बनाउन गाह्रो भएकैले आफू त्यसो गर्न योग्य व्यक्तिको रूपमा उनीहरूको रोजाइमा पर्ने गरेको झाङले सुनाइन्। हामीले बार्निज न्यूयोर्क र कोम डे गार्सोँसमक्ष यी कुराहरू राख्यौँ।

बार्निजले उक्त कम्पनी प्रत्यक्ष रूपमा उनीहरूसँग काम नगर्ने भए पनि आफ्ना आपूर्तिकर्तामाथि लागेका अभियोगमा छानबिन गरिने बतायो।

कोमी डे गार्सोँले पनि आपूर्तिकर्ता सोझै आफूसँग नजोडिएको बतायो।पछि उनीहरूको अनुसन्धानले देखाएको भन्दै बीबीसीलाई उसले उक्त आपूर्तिकर्ता कम्पनी आफूले अनुमोदन गरेको आपूर्तिकर्ताहरूको सूचीमा नरहेको र सहायक कम्पनीले आफ्नो अनुमतिबिनै उसलाई काम लगाएको बतायो। उनीहरूले पुन: त्यस्तो अवस्था नदोहोर्याइने सुनिश्चितता गरिएको बताए।

नियमन

गत वर्षदेखि सिकारु प्राविधिक कामदारसम्बन्धी योजनाका समाचार जापानी सञ्चारमाध्यममा निकै देखिन थालेको छ। त्यसले जापान सरकारलाई सुधारबारे केही गर्न दबाव पनि परेको छ।

सरकारले सो क्षेत्रको नियमनका लागि एउटा निकाय खडा गरेपनि त्यो देखावटी मात्र भएको अधिकारकर्मीहरू बताउँछन्।

इपेई तोरी २० वर्षभन्दा बढी समयदेखि आप्रवासीसँग काम गरिरहेका प्रतिनिधि हुन्। उनले त्यसक्रममा शोषण झेलेका हजारौँ सिकारु कामदारसँग भेटेका छन्।

उनका भनाइमा समस्याको जरो चाहिँ जापानी समाजको संरचनासम्म गएर जोडिन्छ। “जापानले विदेशी कामदारलाई उनीहरूको अधिकारबारे सचेत गराउँदैन,” उनले भने। “र जापानमा जापानी र विदेशीबीच विभेद छ।”

“सिकारु कामदारहरू आफ्नो समस्या वा अधिकारबारे कुरा गर्न वा त्यसको पक्षमा लड्न सक्दैनन्।”

समस्या जापानी पक्षको मात्र छैन, थुप्रै सिकारु कामदार उनीहरूलाई त्यहाँ पठाउने आफ्नो देशका एजेन्टलाई धेरै रकम तिर्न बाँकी राखेर आएका हुन्छन्। “यदि तपाइँले जापानीलाई काममा लगाउनुहुन्छ भने कुनै तरिकाबाट पनि ठग्न सक्नुहुन्न,” जापानमा आप्रवासी श्रमिकसम्बन्धी सन् १९९० को दशकयता काम गरेका चिनियाँ वकिल जेन काइले भने।

“तर जब तपाईँ यहाँको कानुनी व्यवस्था नबुझेका मानिसहरूलाई काममा लगाउनुहुन्छ भने उनीहरूको फाइदा उठाउने धेरै हुन्छन्। किनकि उनीहरूले त जापानमा जसरी पनि पैसा कमाउन खोजिरहेका हुन्छन्।”

दुर्व्यवहार

बीबीसीले कुरा गरेको एक महिलाले आफूले झेलेको दुर्व्यवहार सम्झँदै आफू आत्महत्या गर्ने अवस्थासम्म पुगेको बताइन्।

अर्का युवाले भने उद्योगमा प्रयोग हुने उपकरणबारे नबुझीकनै त्यसमा काम गर्नुपर्दा तीनवटा औँला गुमाउनु परेको बीबीसीलाई सुनाए।गत वर्षको अन्त्यमा जापानी प्रधानमन्त्री सिन्जो आबेले अनिच्छुक भए पनि देशले थप विदेशी कामदारहरू भित्र्याउने बताए।

आगामी पाँच वर्षभित्र तीन लाख ४५ हजार कम सीप भएका मानिसहरू भित्र्याउने उनको घोषणामा थियो। जापानलाई विदेशी कामदार चाहिएको स्पष्ट भए पनि उसले उनीहरूलाई लिन चाहन्छ कि चाहँदैन भन्ने चाहिँ स्पष्ट छैन।जापानी इतिहासमा यसअघि कहिल्यै नलिए जसरी कम सीप भएका विदेशी कामदार ल्याउने तयारी गरिरहँदा अहिले नै यहाँ रहेकाहरूसँग कसरी व्यवहार गर्ने भनेर सिक्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *