अर्थतन्त्र समाचार

बजेट खर्च निराशाजनक, डेढ महिनामा एक प्रतिशतभन्दा कम खर्च


चालु आर्थिक वर्ष सुरु भएको करिब डेढ महिना बित्न लाग्दा सरकारले कुल बजेटको १ प्रतिशत पनि खर्च गर्न नसकेको देखिएको छ। गत वर्षको तुलनामा राजस्व संकलनमा केही सुधार गरेको सरकारको खर्च गर्ने प्रवृत्ति भने पुरानै देखिएको हो।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो। महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ १२ गतेसम्म ०.९८ प्रतिशत अर्थात १५ अर्ब २ करोड ९५ लाख रुपैयाँ बराबरको मात्र बजेट खर्च भएको देखिएको छ ।

बाह्र महिनामा खर्च गरिसक्नुपर्ने सो बजेटमा समानुपातिक रुपमा खर्च गर्ने हो भने कूल बजेटको प्रतिमहिना ८.३३ प्रतिशत बजेट खर्च गर्नुपर्छ । तर सरकारले डेढ महिनामा एक प्रतिशतभन्दा कम खर्च गर्नुले चालु आर्थिक वर्षमा पनि अन्तिम समयमा मात्र खर्च हुने स्थितिको संकेत देखा परेको छ ।

आर्थिक वर्षको सुरुमा खर्च नै नहुने तथा भएपनि समयमा भुक्तानी नहुने र बजेटजति आर्थिक वर्षको अन्त्यमा खर्च प्रणालीले भ्रष्टाचार र असारे विकासलाई प्रशय मिल्दै आइरहेको छ । साढे १ महिना पुग्नलाग्दा १ प्रतिशतपनि बजेट खर्च नहुनुले चालु आवमा पनि त्यसले निरन्तरता पाउने संकते गर्छ।

चालु आर्थिक वर्षको बजेटमा चालु खर्च अन्तरगत छुट्याएको ९ खर्ब ५७ अर्ब रुपैयाँमध्ये भदौ १२ गतेसम्म १२ अर्ब ७२ करोड २० लाख रुपैयाँ अर्थात १.३३ प्रतिशत मात्र खर्च भएको देखिएको छ। सरकारले गत आर्थिक वर्षको भदौ १२ गतेसम्ममा कूल बजेटको ६.२६ प्रतिशत खर्च गरेको थियो। गत आर्थिक वर्षमा चालु खर्च बापत ८ खर्ब ४५ अर्ब रुपैयाँ छुट्याइएकोमा यसै अवधिमा ५२ अर्ब ९४ कारोड रुपैयाँ खर्च भएको थियो।

त्यस्तै पूँजीगत खर्च तर्फ पनि गत आर्थिक वर्षको तुलनामा कम खर्च भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा पूँजीगत खर्च अन्तरगत बजेटको ०.७३ प्रतिशत खर्च गरेकोमा यस आर्थिक वर्षमा भने ०.४३ प्रतिशत मात्र खर्च भएको छ। चालु आर्थिक आर्थिक वर्षको बजेटमा पूँजीगत खर्च अन्तरगत छुट्याइएको ४ खर्ब ८ अर्ब रुपैयाँमा हालसम्म १ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ मात्र खर्च भएको छ।

त्यसैगरी बजेटमा वित्तीय व्यवस्था अन्तरगत छुट्याइएको १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँमा ०.२५ प्रतिशत अर्थात ४१ करोड १३ लाख रुपैयाँ मात्र खर्च भएको छ । गत बर्षको यसै अवधिमा वित्तीय व्यवस्थातर्फ बजेटको ०.२६ प्रतिशत रकम खर्च भएको थियो ।

हेर्नुहोस् चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट भदौ १२ गतेसम्म भएको सरकारी खर्चको विवरण:-

यस अवधिमा सरकारको राजस्व संकलन भने गत वर्षको तुलनामा बढेको छ। गत वर्षको भदौ १२ गतेसम्ममा लक्षित राजश्वको ५.२४ प्रतिशत मात्र राजस्व संकलन गरेको सरकारले यस आर्थिक वर्षमा भने ८.१४ प्रतिशत राजस्व संकलन गरेको हो।

चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारी लक्ष्य रहेकोमा डेढ महिना नपुग्दै ९० अर्ब ५१ करोड रुपैयाँ बराबरको राजस्व संकलन हुनुले सरकारले चालु आर्थिक वर्षमा राजश्वको लक्ष्य भेट्टाउने देखिन्छ।

गत आर्थिक वर्षको यसै अवधिमा सरकारी लक्ष्य ८ खर्ब ३१ अर्ब ३१ करोड रहेकोमा५.२४ प्रतिशत अर्थात ४३ अर्ब ५५ करोड २६ लाख रुपैयाँ संकलन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *