बजार बैंक तथा बिमा

“बिग मर्जर”लाई बाध्यकारी बनाउने संकेत गर्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले ठूला बैंकहरु गाभ्ने तथा गाभिने प्रक्रिया अर्थात बिग मर्जरमा जान बैंकहरुलाई बाध्य पारिने संकेत गर्दै सात दिन भित्र मर्जर कार्ययोजना बुझाउँन बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले नियमन विभाग मार्फत बिहीबार सबै वाणिज्य बैंकहरुलाई गोप्य सर्कुलर पठाउँदै ७ दिनभित्र मर्जर सम्बन्धी प्रगति विवरण माग गरेको हो।

राष्ट्र बैंकको नियमन विभागका प्रमुख देव कुमार ढकालले बिहीबार सबै वाणिज्य बैंकहरुलाई मर्जर सम्बन्धी स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिएको बताए।

उनले भने- ‘राष्ट्र बैंकले यसअघि मागे अनुसार मर्जरको प्रतिबद्धता पेश गर्ने बैंकहरुलाई ७ दिनभित्र सम्भावित मर्जर साझेदार सहितको स्पष्ट कार्ययोजना पेश गर्न पत्र काटेका छौं। यसअघि मर्जर प्रतिबद्धता नपठाउने बैंकहरुसँग भने थप प्रष्टिकरण माग गरिएको छ।’

राष्ट्र बैंकले यसअघि मर्जर सम्बन्धी प्रतिबद्धता पेश गरेका २२ वाणिज्य बैंकहरुलाई ७ दिनभित्र मर्जरको प्रगति र सम्भावित मर्जर साझेदार सहितको विवरण बुझाउन सर्कुलर जारी गरेको हो।

यसैगरि मर्जर प्रतिबद्धता पेश नगरेको तीन सरकारी बैंक र निजीतर्फ नबिल, एभरेष्ट र प्राइम सहित ६ बैंकलाई पनि प्रतिबद्धता नपठाउनुको कारणबारे स्पष्टीकरण सोध्दै ७ दिनभित्रै त्यसको जवाफ तथा मर्जर पार्टनर र कार्ययोजना लिखित रुपमा पेश गर्न भनेको छ।

राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति पूर्व गत असार १२ गते होटेल याक एण्ड यतीमा बैंकका अध्यक्षहरु तथा सिइओहरुसँग छलफल आयोजना गरि एक साताभित्र मर्जर योजना र प्रतिबद्धता लिखित रुपमा पेश गर्न निर्देशन दिएका थिए।

सो समयमा एक दर्जन बैंकको मात्र प्रतिबद्धता आएपछि केन्द्रीय बैंकले मौद्रिक नीतिमा बिग मर्जर आउने र बिग मर्जरका लागि तयार रहन भन्दै मौद्रिक नीति अगाबै मर्जर योजना र प्रतिबद्धता पेश गर्न पटक पटक दबाब दियो।

तर मौद्रिक नीतिमा फोर्स मर्जरको स्पष्ट व्यवस्था आउन नसकेपछि मर्जर प्रतिबद्धता पेश गरेका बैंकहरु पनि चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने र मर्जरमा नजाने रणनीतिमा लागेपछि राष्ट्र बैंक फेरि बिग मर्जर गराउन जुटेको हो।

लिखित मर्जर प्रतिबद्धता जनाउनेमा एनएमबी, सनराइज, सिटिजन्स, लक्ष्मी, एनसीसी, सानिमा, सिभिल, माछापुच्छ्रे, सेञ्चुरी, नेपाल एसबीआई, ग्लोबल आईएमई, जनता, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, हिमालयन, कुमारी, मेगा, सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, नेपाल बंगलादेश बैंक र बैंक अफ काठमाडौं छन्। सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड र प्रभु बैंकले असार २५ गते र प्रभु बैंकले सबैभन्दा पछि असार २६ गते राष्ट्र बैंकमा लिखित प्रतिबद्धता जनाएका थिए।

मौद्रिक नीतिले मर्जर नीतिलाई कडाईको रुपमा नलिएपछि बैंकको मर्जरको माहौल केही समय सेलाएको थियो भने नयाँ निर्देशनले फेरि तताउने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *