खेलकुद समाचार

पोखरामा तीज महोत्सबमा महिला भलिबल

पोखरा : तीज पर्वको अवसरमा पोखराको लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रतियोगितामा साबिक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबसहित ६ टोलीको सहभागिता रहने जानकारी तीज महोत्सवका प्रचार संयोजक बुद्धिबहादुर खत्रीले दिए।


तीज महोत्सवका अवसरमा भदौ १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एपीएफ क्लबसहित, नेपाल पुलिस क्लब, न्यु डायमन्ड एकेडेमी, चितवन टाइगर्स, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चल भलिबल टोलीको सहभागिता रहनेछ। राष्ट्रिय महिला भलिबल खेलाडी यतिबेला नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका छन्। त्यसैले प्रतियोगितामा दोस्रो रोजाइका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।

बिच भलिबलका राष्ट्रिय खेलाडी भने प्रतियोगितामा सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टोलीले एक लाख एक सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछ। यसैगरी उपविजेता टोलीले ६५ हजार पाँच रुपैयाँ र तेस्रो हुने टोलीले २५ हजार पाँच रुपैयाँ पुरस्कार हात पार्ने जानकारी आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष कमलबहादुर थापाले दिए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि आकर्षक उपहार प्रदान गरिने बताइएको छ। प्रतियोगिता सञ्चालन गर्न करिब १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी क्लबका खेल संयोजक सुशीलकुमार श्रेष्ठले दिए। तीज महोत्सवमा भलिबलसहित अन्य प्रतियोगिता सञ्चालन गर्न ५० लाख रुपैयाँ लाग्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *