अन्तरास्ट्रिय बजार

किन धमाधम सेयर बेच्ना थाले अमेरिकाका टप सीइओहरुले -कतै मन्दीको संकेत त होइन ।


काठमाण्डौ । नेपालको सेयर बजारमा अपेक्षाविपरीत सुस्तता छाइरहेको छ । यहाँ मात्र होइन, छिमेकी देश भारतको सेयर बजार तथा लगानीका अन्य क्षेत्रको हालत पनि उस्तै छ ।

सुस्तता र अन्यौलको यो अवस्था भारतमा मात्र सीमित छैन, अमेरिकी सेयर बजारमा समेत अवस्था भयावह बन्दै गएको मिडिया रिपोर्टहरु आउन थालेका छन् । के विश्व नै सन् २००८ को जस्तो आर्थिक मन्दीको दिशातर्फ अघि बढिरहेको हो ? अमेरिकाका टप कम्पनीका प्रमुख कार्यकारीहरु जुन हिसाबले पछिल्लो केही दिन सेयर बजारबाट पैसा तानिरहेका छन्, यसले आर्थिक मन्दी संघारमै रहेको संकेत गर्ने द न्यूयोर्क टाइम्सको विश्लेषण छ ।

रिपोर्टमा भनिएअनुसार अमेरिकाका सीइओहरु निकै तीव्र स्तरमा सेयर बिक्री गर्दै बजारबाट निस्किरहेका छन् । त्यहाँका टप सीइओहरुले अगस्ट महिनाको हालसम्मको अवस्था हेर्दा हरेक दिन ६०० मिलियन डलर(करिब ७९ अर्ब रुपैयाँ) बराबरको पैसा सेयर बजारबाट निकालिरहेका छन् ।

अगस्ट त्यस्तो पाँचौ महिना हो, जुन महिना आन्तरिक सेयरधनीले १० अर्ब डलरभन्दा बढीको सेयर बिक्री गरिसकेका छन् । अमेरिकाका सीइओहरुले विश्व आर्थिक मन्दीको ठीक अगाडि सन् २००६–००७ तिर पनि यसैगरी सेयर बिक्री गरी बजारबाट पैसा उठाएका थिए ।

अमेरिकी सेयर बजारको बुल रन १० वर्ष भन्दा बढी समयसम्म चल्यो । यसको सुरुवात सन् २००९ को मार्च महिनामा भएको थियो । यो क्रममा अमेरिकी सेयर बजार परिसूचक डाउजोन्स १९ हजार अंकले माथि चढेको छ । अमेरिकाका टप सीइओहरुले अब बजारको यो बुल रन धेरै दिनसम्म नटिक्ने र वैश्विक स्तरमै मन्दी आउने निश्कर्षसहित बजारबाट सेयर बेचेर पैसा बनाइरहेका विश्लेषण सिएनएन मनिले गरेको छ ।

कसले बेच्यो सेयर ?
सिएनएन मनिका अनुसार संस्थापक मार्क जुकरबर्गसहित फेसबुकका तीन टप एक्जेक्यूटिभले यो हप्ता मात्रै ४९ मिलियन डलरको सेयर बेचेका छन् ।
पिज्जाको चेन पापा जोन्सका पूर्व सीइओ तथा संस्थापक जोन स्नेडरले १६ मिलियन डलरको सेयर मई महिनामा र २० मिलियन डलरको सेयर यो हप्ता बिक्री गरेका छन् ।

कम्पनीका निकै ठूला र महत्वपूर्ण मान्छेहरुले सेयर बिक्री गरिरहेका छन्, यसको कारण सरल हुन्छ । जब जिम्मेवार मानिसहरुले नै सेयर बिक्री गर्न थाल्छन्, तब यसले कम्पनीप्रतिको विश्वासमा आइरहेको कमी भनी बुझ्नुपर्दछ । तर, यो विश्लेषण सधैं र सबै ठाउँमा सही भने नहुनसक्छ ।

अशुभ संकेत
अमेरिकाका टप सीइओहरुको मनमा अमेरिका र चीनबीच जारी व्यापार युद्धका कारण बुलिस बजार धेरै दिनसम्म नटिक्ने चिसो पसेको छ । उनीहरुले यसलाई अशुभ संकेतको रुपमा समेत बुझेका छन् ।

व्यापार युद्ध जारी रहेका कारण विश्वभर नै आर्थिक मन्दीको डर डढेलो झै फैलिइरहेको छ ।

विज्ञहरुले आगामी वर्षसम्म अमेरिकी अर्थव्यवस्थाले हालसम्मकै कठिन आर्थिक मन्दीको सामना गर्नुपर्ने विश्लेषण गरिरहेका छन् ।

भारतमा पनि उही हाल
चौतर्फी आर्थिक मन्दीको खबरका कारण मानिसहरुमा अन्यौलको अवस्था छ । मागको स्तरमा निकै ठूलो सुस्तता देखिइरहेको छ भने यो अवस्था नेपालमा मात्र होइन भारतीय सेयर बजारमा पनि व्याप्त छ ।

विश्वस्तरको ब्रोकिङ फर्म गोल्डमेन सैक्सलाई मान्ने हो भने भारतको बजार तथा आर्थिक अवस्था सन् २००६ पछि पहिलोपटक सुस्त बन्न पुगेको छ । जुन २०१९ को जुनअगाडि बितेका १८ महिनामा सुस्तीको माहौल रहेको छ । यसलाई वितेको १५ वर्षकै सबैभन्दा लामो मन्दी भनिएको छ ।

यो सुस्ती भारतमा ग्राहकको स्तरमा छ अर्थात कन्जप्सन स्लोडाउनको अवस्था, जो निकै व्यापक बन्दै गएको मिडियाहरुले जनाएका छन् ।

भारतका विज्ञहरु समेत सन् २०२० को अन्त वा २०२१ को सुरुवातबाट वैश्विक मन्दी सुरु हुने र त्यसले भारत र आसपासका देशलाई समेत नराम्ररी प्रभावित गर्ने दाबी गरिरहेका छन् । वैश्विक आर्थिक मन्दीको लप्काबाट जोगिन आवश्यक पूर्वतयारीको विषयमा अरु देशले काम थालिसक्दा नेपाल भने बेखबर झै देखिएको छ ।

छिमेकी भारतको आर्थिक वृद्धिदर सन् २०१९–२० मा ६ वर्षकै सबैभन्दा कम ६।७ प्रतिशत मात्र हुने फिच ग्रुप अफ कम्पनीको प्रक्षेपण छ । भारतमा सुरु हुनसक्ने स्लोडाउनले नेपालको अर्थतन्त्रमा पनि नराम्रै प्रभाव पार्ने देखिन्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *