पर्यटन समाचार

पर्यटन ब्यबसाय को अभिलेख अब प्रदेशबाट

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभाग अन्तर्गतका २२ हजार तीन सय ६४ वटा व्यावसायिक सेवाको अभिलेख प्रदेशलाई हस्तान्तरण गरेको छ। विभागले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी सातैवटा प्रदेशलाई पर्यटनका व्यवसायको अभिलेख हस्तान्तरण गरेको हो।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका पर्यटन मन्त्रालयका सचिवलाई व्यावसायिक अभिलेख हस्तान्तरण गरेका छन्। पर्यटनसँग सम्बन्धित व्यवसायको काम प्रदेश तहमा हस्तान्तरण भएपछि अब साविकमा विभागले गर्दै आएको दर्ता, नवीकरण, अनुगमन, मूल्यांकन जस्ता प्रशासकीय काम प्रदेश मातहत हुने भएको छ।

महानिर्देशक घिमिरेका अनुसार ‘संविधानले दिएको संघ, प्रदेश र स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्रै रहेर विभागले गर्दै आएका काम प्रदेश मातहतमा हस्तान्तरण गरिएको हो।’ विभागले आगामी असोज १ गतेबाट औपचारिक रूपमा कार्यान्वयन हुने गरी यस्ता व्यावसायिक कार्यक्रम हस्तान्तरण गरिएको हो। विभागले प्रदेश मातहत पठाएका व्यावसायिक अभिलेखमा तीन सय ६१ वटा पर्यटकस्तरीय होटल छन्। होमटस्टे ९१, ८५ र्‍याफ्टिङ एजेन्सी ८५, ट्राभल एजेन्सी तीन हजार दुई सय ६२, ट्रेकिङ एजेन्सी दुई हजार चार सय १७, रिभर गाइड दुई सय १४, ट्रेकिङ पोटर गाइड एक सय ७२ वटा छन्। यस्तै पर्यटन यातायात सेवा ७९, ट्रेकिङ गाइड १२ हजार नौ सय ८१, टुरिस्ट गाइड दुई हजार सात सय एक रहेको विभागले जानकारी दिएको छ।

विभाग मातहत रहेका सातवटा पर्यटन कार्यालय प्रदेशमा हस्तान्तरण गरिएको हो। विभागका अनुसार काँकडभिट्टा (झापा), नाम्चे (सोलुखुम्बु), जनकपुर (धनुषा), वीरगन्ज (पर्सा), भैरहवा (रूपन्देही), पोखरा (कास्की) र कोहलपुर (बाँके)को साविकको पर्यटन कार्यालयबाट गरिँदै आएको सबै काम प्रदेश सरकार मातहत सञ्चालन हुने भएको छन्।

विभागले ट्रेकिङ, ट्राभल पर्यटक यातायात सेवा, र्‍याफ्टिङ र होमस्टेको इजाजतपत्र जारी तथा नवीकरण गर्ने अधिकार हस्तान्तरण गरेको हो। साथै टूर गाइड, ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, रिभर गाइडको पनि इजाजतपत्र जारी र नवीकरण गर्ने अधिकार प्रदेशलाई दिएको विभागका महानिर्देशक घिमिरेले बताए।

अब विभागले गरिरहेको काम तल्लो तहमा गएको र पर्यटन विभागको कार्यबोझ घटेको बताए। विभागले आगामी दिनमा तल्लो तहका सरकारलाई आवश्यक सहयोग गर्नुका साथै नीतिगत काम र नियमनमा बढी ध्यान केन्द्रित गर्ने कार्यक्रममा जानकारी दिए। पर्यटन विभागका अनुसार तल्लो तहमा हस्तान्तरण भएका होटल हाल सबै पर्यटकस्तरीय मात्रै हुन्। अब एक तारे स्तरमाथिका होटल मात्रै पर्यटन विभागमा दर्ता हुनेछन्। यसले व्यावसायिक सहजीकरण भएको र व्यवसायीले सम्बन्धित प्रदेशबाटै आफ्ना व्यवसाय दर्ता, नवीकरण र सञ्चालन गर्न सक्नेछन्। यसबाहेक पर्वतारोहणको अनुमति, ठूला होटेल, रिसोर्ट र क्यासिनो दर्ता, नवीकरणलगायत काम पनि विभाग मातहत रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *