अन्तरास्ट्रियबजार

नेपालले आफु जस्तै कम्युनिष्ट देश लाहोसबाट कहिले सिक्ने जहाँ बिदेशी लगानी कर्ता लाइ शेयर बजारमा रातो कार्पेट ओछायको छ ।


नेपालमा सत्तामा रहेका कम्युनिष्टहरु सोच्छन् कि पूँजी बजारमा विदेशीलाई हुल्यो भने देशको सार्वभौमिकता र आर्थिक स्वतन्त्रता समाप्त भएर जान्छ । तर एशियामै एउटा यस्तो खाँटी कम्युनिष्ट देश छ, जहाँ आफ्नै नागरिकलाई जसरी नै विदेशी नागरिकलाई पनि पूँजी बजारमा लगानी गर्न सबै ढोका खुला गरी स्वागत गरिएको छ ।

थाईल्याण्ड, कम्बोडिया र भियतनामसँगै सिमा जोडिएको लाओस खाँटी कम्युनिष्ट देश हो, जहाँ विदेशी नागरिकले आफ्नो पासपोर्ट, फोटो र अन्य आबश्यक कागजातहरु पेश गरी स्टक एक्सचेन्जमा दर्ता भएर लाओ नागरिक सरह लगानी गर्न ढोका खुला गरिएको छ ।

अचम्म त त्यतिखेर लाग्यो जतिखेर लाओस स्टक एक्सचेन्ज (एलएसएक्स) को भवन अगाडि पुग्दा कम्युनिष्ट पार्टीको झण्डा फरफराईरहेको थियो तर त्यहाँको नीति नियम हेर्दा विदेशी लगानी आकर्षित गर्ने मामिलामा पूँजीबादी र अति उदारबादी देशहरुको भन्दा अगाडि रहेको पाईयो ।

पछिल्लो समयमा लाओसको कम्युनिष्ट सरकारले पूँजी बजारको बिकासबाट मात्र आफ्नो आर्थिक बिकास र लगानी भित्र्याउने संभावना रहेको महसुस गरी उदारवादी नीतिका साथ स्टक मार्केटको बिकासमा ध्यान केन्द्रित गरेको देखिएको छ ।

विदेशी नागरिकले आफ्नो पासपोर्टसहित त्यहाँको स्टक एक्सचेन्जमा आबेदन गरेर दर्ता भई बैंक खाता र शेयर कारोबार खोली कारोबार गर्न सक्नेछन् । एक विदेशी नागरिकले त्यहाँको शेयर बजारमा सूचिकृत कुनै एक कम्पनीको २० प्रतिशत शेयरसम्म किन्नसक्ने छुट प्रदान गरिएको छ ।

यहाँ तीन वटा शेयर दलाल कम्पनीहरु छन्, विदेशी लगानीकर्ताले ती मध्येको कुनैमा आबद्ध भएर आफ्नो शेयर कारोबार शुरुवात गर्न सक्छन् ।

विदेशी नागरिकले शेयर बजारमा लगानी गर्नुपूर्व लगानीकर्ता पहिचान कार्ड र प्रमाण पत्र प्राप्त गर्नुपर्ने, बैंक खाता खोलेर पासबुक लिनुपर्ने, शेयर दलालसँग सम्झौता गर्नुपर्ने र शेयर कारोबार खाता खोल्नुपर्ने शर्त तोकिएको छ । त्यसैगरी विदेशी कम्पनीको लागि सम्बन्धित देशममा कम्पनी दर्ता भएको प्रमाण पत्रसहित अन्य आबश्यक कागजातहरु पेश गरी प्रक्रिया पुरा गर्नुपर्ने शर्त तोकिएको छ ।

बैंक खातासँग शेयर कारोबार खाता आबद्ध गरी पासबुकमै लगानी गरिएको रकम अभिलेखिकरण गरिएको हुन्छ भने शेयर बजारबाट लगानी फिर्ता गर्न पनि उत्तिकै सहज ब्यवस्था अबलम्बन गरिएको छ ।

नेपालमा तीन दशक अघि स्थापना भएको नेपाल स्टक एक्सचेन्जको झण्डै शतप्रतिशत स्वामित्व सरकार र सरकार सम्बद्ध निकायले कब्जा गरेर राख्दा यहाँको पूँजी बजारको बिकास हुन नसकेको अबस्था छ भने लाओस जस्तो कम्युनिष्ट देशको स्टक एक्सचेन्जको स्वामित्वको बनावट हेर्दा यहाँका कम्युनिष्टहरु पनि छक्क पर्न सक्छन् ।

लाओस सरकारको ५१ प्रतिशत र दक्षिण कोरियाली स्टक एक्सचेन्जको ४९ प्रतिशत हिस्सेदारीमा सन् २०११ मा लाओस स्टक एक्सचेन्ज शुरु भएको हो । सन् २०१३ बाट मात्र यहाँ कम्पनीहरु सूचिकरण बढेको थियो । अहिलेसम्म १० वटा मात्र कम्पनीले आईपीओ बिक्री गरेर सूचिकृत भएका छन् ।

१० वटा बण्डहरु पनि सुचिकृत भए पनि तिनीहरुको किनबेच सुन्य जस्तै छ । सुचिकृत कम्पनीहरुमा धेरै जसो सरकारी स्वामित्वका र ब्यापारिक कम्पनीहरु हुन् । अन्य कयौं नयाँ कम्पनीहरु लाओ सेक्युरिटी कमिशनबाट आईपीओ जारी गर्ने प्रक्रियामा छन र सन् २०२० सम्ममा शेयर बजारमा आउने कम्पनीहरुको संख्या ३५ नघाउने लक्ष्य लिईएको छ । यहाँको शेयर बजार बजार पूँजीकरण १।२० बिलियन डलर बराबरको रहेको छ ।

नेपालको शेयर कारोबारमा लाग्दै आएको चर्को दलाली शुल्कलाई पनि लाओसको शुल्कले ब्यड।ग्य गरेको अनुभुति हुन्छ । लाओस सरकारले शेयर कारोबारलाई सहुलियत दिदै शेयर कारोबार गर्दा लाग्ने शुल्क कारोबार रकमको ०।३ प्रतिशतबाट ०।१५ प्रतिशतमा झारेको छ भने अनलाईन कारोबार गर्दा लाग्ने शुल्क कारोबार रकमको ०।२७ बाट ०।१३५ प्रतिशतमा तल ल्याईएको छ ।

स्टक मार्केटको बिकासका लागि छिटो के गर्दा राम्रो हुन्छ भन्नेमा सेक्युरिटी कमिशन र स्टक एक्सचेन्जका अधिकारीहरु लागिरहेका बताईन्छ । सरकारले पुरै साथ दिएको छ । यहाँको जस्तो नेप्से र धितोपत्र बोर्डको लडाईको रमिता हेरेर लाओस सरकार बस्दैन । स्टक मार्केटको बिकास रोक्न खोज्नेहरु रातारात बर्खास्त हुन्छन् ।

लाओस स्टक एक्सचेन्जको सूचक एलएसएक्स कम्पोजिट ईन्डेक्स ७७० को बिन्दुमा रहेको छ । धेरै कम्पनीहरुले लाओसको मुद्रा किप १०० को अंकित मूल्यमा कम्तिमा दश गुणा प्रिमियम थपेर आईपीओ जारी गर्ने गरेका छन् । शेयर बजारमा कम्पनीहरुको मूल्य प्रतिकित्ता सात हजार किप (लाओ मुद्रा)सम्म रहेको देखिन्छ । यहाँ चरम मुद्रास्फिति रहेको छ र एक अमेरिकी डलर बराबर ८ हजार किप हाराहारीको सटही दर छ ।

यहाँ शनिबार, आईतबार र बिदाको दिन बाहेक हरेक दिन बिहान साढे आठ बजे स्टक मार्केट खुल्छ र दिउँसो तीन बजे बन्द हुन्छ । दुई कार्यदिन भित्र सेटलमेन्ट प्रक्रिया पुरा हुने ब्यवस्था छ । यहाँ एक कित्ता पनि शेयर किन्न र बेच्न सकिन्छ ।

कुनै शेयरको मूल्य एकैदिन १० प्रतिशत भन्दा बढी घटबढ हुन नपाउने गरी सर्किट ब्रेकको ब्यवस्था छ भने अस्वभाविक र हल्लाको भरमा कारोबार हुन थाले स्टकले वीचमै कारोबार बन्द गर्ने गरेको देखिन्छ ।

सरकारको उदारबादी सोचकै कारण लाओसमा विदेशी लगानी ओईरिने क्रम पछिल्ला बर्षहरुमा ह्वात्तै बढेको देखिएको छ । खासगरी चिनियाँ कम्पनीहरुले ठूला खाले पुर्वाधार योजनाहरुको नेतृत्व गरिरहेका छन् भने चिनियाँ, थाई लगायतका विदेशी बैंकहरुले लाओसको राजधानी भियन्टिन र अन्य शहरहरुमा धमाधम शाखा बिस्तार गर्दैछन् ।

यहाँ चिनियाँ, थाई र भियतनामी कम्पनी तथा नागरिकहरुको रुची ज्यादै बढेर गएको पाईएको छ ।

लाओसमा बिदेशी लगानीकर्ताहरुको आकर्षण बढ्नुमा त्यहाँ कम्युनिष्ट पार्टीको स्थिर सरकार र विदेशी लगानी सुरक्षाका लागि दरलो प्रतिबद्धताका साथै त्यसलाई सघाउने कानुनी संयन्त्र र पुर्वाधारहरुको ब्यवस्थापनमा उच्च प्राथमिकता नै मुख्य कारण हुने देखिएको छ ।

लाओस स्टक एक्सचेन्ज भ्रमणमा दोभासेको रुपमा गएका हाम्रा सहयोगी साड्ग सुले भने – सरकारले नै स्टक मार्केटको तीब्र बिकास चाहेको छ, यहीँबाट विदेशी पूँजी ल्याएर देश बनाउँने सरकारको सोच छ ।

हाल ७० लाख जनसंख्या रहेको लाओसले सन् २०२४ सम्ममा अति कम विकशित देशको सूचीबाट मुक्त बन्ने लक्ष्य लिएको छ । विदेशी लगानी आकर्षित गरेर यो लक्ष्य पुरा गर्न स्टक मार्केटको बिकासलाई मुख्य जोड दिईएको छ । त्यसैका लागि कुनै धक नमानी विदेशी लगानीलाई रातो कार्पेट बिच्छाएर स्वागत गरिरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close