अर्थतन्त्र बजार

आखिर किन बढ्दै छ सुन को मूल्य आज मात्रै एक हजारले बढ्याे


सुनको मूल्य बढ्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार सुनको मूल्य १ हजार रुपैयाँले बढेर हालसम्मकै नयाँ उचाइमा पुगेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार ५०० रुपैयाँमा पुगेको छ। तेजाबी सुन प्रतितोला ७३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा सुनको भाउ हालसम्मकै महंगो हो ।

आइतबार पनि सुनको मूल्य एकैदिन १ हजार दुइ सय रुपैयाँले बढेको थियो ।

त्यसैगरी सुनको सँगसँगै चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर ८६० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। आइतबार पनि चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । त्यस्तै अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो।

चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ।

गत साउनको सुरुवात देखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो ।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रतितोला ७४५ मा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५००, तेजाबी सुन ७१ हजार २०० तथा चाँदी प्रतितोला ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ ।

साउन यता सुनको मूल्य ९ हजार रुपैयाँले बढिसकेको छ ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महासंघले जनाएको छ। अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ।

सुनको मूल्य बढेसँगै सुन खरिद गर्ने भन्दा बिक्री गर्नेहरुको सँख्या बढ्दै गएको व्यवसायीहरुको भनाई छ।

सुनको भाउ बढ्दै गएपछि महिलाहरुको महान चाड तीजको बेलामा पनि सुन खरिद गर्ने भन्दा बिक्री गर्ने बढेका हुन्। सुन खरिद गर्नेहरु शुन्य जस्तै भएको एक व्यवसायी बताउँछन्।

सुन चाँदीको बिक्री घटेपछि व्यवसाय धान्नै गाह्रो परेको व्यवसायीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *