अन्तरास्ट्रिय अर्थतन्त्र समाचार

व्यावसायिक साझेदारी बिस्तार गर्नको लागि चीन संग छलफल गर्दै चेम्बर अध्यक्ष


काठमाडौं : चीन संग व्यावसायिक साझेदारी बिस्तार गर्नको लागि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीले आइतबार नेपालका लागि चीनको बेइजिङस्थित नेपाली राजदूतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग भेट गरेका छन्।

चेम्बर अफ कमर्सको सचिवालयमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले पराजुलीसँग आपसी व्यवसाय प्रवर्द्धनसँगै आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए। उनले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएकाले यसको प्रभाव नेपालमा बढी पर्ने, जीरो ट्यारिफ र ८ अंकको एचएस कोड प्रयोग हुने हुँदा शून्य भन्सार सुविधा लिन गाह्रोे, सर्टिफिकेट अफ ओरिजिन कुन स्तरको लागि कस्तो आवश्यक पर्ने आपसी छलफलबाट तय हुनुपर्ने बताए।

उनले दोस्रो बेल्ट एन्ड रोड इनिसिएटीभ सम्मेलनमा नेपालप्रति देखाएको प्रतिवद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पूरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिए। चीन पहिलो वैदेशिक लगानी आउने र दोस्रो पर्यटक आउने मुलुक भए पनि विभिन्न समझदारी तथा द्धिपक्षीय सम्झौता समयमै कार्यान्वयन हुनुपर्ने बताए। पूर्वाधार निर्माणमा चीनको सहयोग उल्लेख्य र अपेक्षित रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे।

उनले नेपालमा संयुक्त लगानीका लागि पर्यटन, व्यावसायिक कृषि, खनिज, सिमेन्ट, जडिबुटी, उद्योग र शिक्षा रहेको बताए।

श्रेष्ठले चीनले प्रदान गरेको ४ वटा समुद्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाहको अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताए। उनले केरुङ, काठमाडौं, लुम्बिनी रेलवेको कार्य तीब्रताका साथ अगाडि बढाउनुपर्ने र चीनको सीसीपीआईटी र नेपालको निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान, सूचनाको आदान प्रदान, व्यापारिक मेलामा सहभागिता हुनुपर्नेमा राजदूतावासबाट सो कार्यमा सहयोगीको भूमिकाको अपेक्षा गरे।

सो भेटमा चीनको बेइजिङस्थित नेपाली राजदूतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीले दुई पक्षीय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने प्रतिवद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *