अन्तरास्ट्रिय पर्यटन

नेपाल जान सुरक्षित छ भन्ने सन्देश दिनुपर्छ : ज्ञानप्रसाद रिमाल, अवैतनिक पर्यटन दूत, अमेरिका

अमेरिका, अगष्ट २० । ज्ञानप्रसाद रिमाल वाल्टिमोरका ‘अवैतनिक पर्यटन दूत’ हुनुहुन्छ । नेपाल टुरिजम वोर्डले उहाँलाई गत वर्ष पर्यटन व्यवसायी भएकै कारण ‘पर्यटन दूत’का रुपमा नियुक्त गरेको हो ।१६ वर्षदेखि वाल्टिमोरमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आउनुभएका ५८ वर्षीय रिमाल राजनीतिज्ञ र फुटबल खेलाडीसमेत हुनुहुन्छ ।

नेपालमा रहँदा लामो समय पर्यटनसँग सम्बन्धित रहुनभएका रिमालले नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा पर्यटन सुधारका लागि गर्नुपर्ने व्यवहार वा नीतिका बारेमा यस समाचारदातासँगको छोटो अन्तर्वार्ताका क्रममा केही टिप्स दिनुभएको छ । जसलाई नेपाल सरकारले पनि हृदयंगम गर्नुपर्ने देखिन्छ ।

उहाँ भन्नुहुन्छ –सर्वप्रथम त काठमाडौँको प्रदूषित वातावरणमा सुधार ल्याउनुपर्छ । वातावरणमा अपेक्षाकृत सुधार नहुँदासम्म पर्यटकको आवागमनमा असर परिरहन्छ । पर्यटकहरुलाई स्वच्छ खानेपानी र विषादी नमिसाएको खाना खुवाउनुपर्छ ।’कमसेकम ५ वर्ष पर्यटन क्षेत्रमा काम गरेको व्यक्तिलाई टुरिष्ट गाइडका रुपमा काम लगाउनुपर्छ । जबसम्म गाइडलाई नै कसरी सेवा दिने भन्ने पूर्ण जानकारी हुँदैन तबसम्म पर्यटकहरु जति खुसी हुनुपर्ने हो त्यति हुनसक्दैनन् ।

उहाँ भन्नुहुन्छ –‘एउटा दुर्घटना वा हत्या नै पनि पर्यटकलाई नेपाल आउनबाट वञ्चित गर्ने कारक भएकोले सुरक्षा निकायले यस्ता कुरामा विशेष ध्यान दिनुपर्छ । त्यसैले नेपाल जान सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ । मुख्य कुरो नेपाल भित्रिएको त्यो पर्यटकले पाएको सेवा, सुरक्षा, खानपान र यहाँको सौहार्द वातावरणबाट प्रभावित भएर आफ्ना साथीभाइ र इष्टमित्रलाई नेपाल घुम्न जानका लागि राम्रो सन्देश दिन्छ कि दिँदैन भन्ने नै हो । उसले राम्रो सन्देश पुर्याएको खण्डमा मात्र यसले भ्रमण वर्ष सफल पार्छ भन्ने मेरो ठम्याइ हो ।’

‘सबै नेपालीले आआफ्नो क्षेत्रबाट यसलाई सफल पार्नुपर्छ । विशेषतः पर्यटकको स्वास्थ्य र खानाको विषयमा स्वास्थ्य मन्त्रालय, प्रहरी प्रशासनले सुरक्षा, हवाइ विभागले हवाइ सुरक्षा र सन्चालन र पर्यटन विभागले पनि कुन कुन क्षेत्रमा पर्यटकलाई पठाउने जस्ता विषयमा कार्यविभाजन गर्नुपर्छ । त्यस्तै खेलकुद र संस्कृति मन्त्रालयको पनि महत्वपूर्ण जिम्मेवारी छ । ‘संस्कृति मन्त्रालयले कुन ठाउँमा, कहिले कुन जातिको संस्कृति झल्काउने उत्सव वा नाचगान गर्ने भन्ने कुराको पनि कार्यतालिका सार्वजनिक गर्नुपर्छ ।

पर्यटकलाई सकेसम्म घरेलु वातावरण सिर्जना गर्नुपर्ने’कुरामा उहाँको जोड छ ।‘विज्ञहरुबाट सल्लाह र सुझाव लिनुपर्छ । कुनै ठाउँमा कसैले कुनै अनियमितता तथा पर्यटकलाई ठग्ने, झुक्याउने तथा उनीहरुबाट अवैधानिक तरिकाले पैसा असुल्ने जस्ता कार्य गरेको पाइएमा तिनीहरुलाई तत्कालै कार्यवाही र राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्था गर्नुपर्छ, कसैले गरेको उजुरीलाई गम्भीर रुपमा लिनुपर्छ’उहाँको भनाइ छ ।

रिमाल भन्नुहुन्छ –विमानस्थल पहिलो प्रभावको क्षेत्र हो । यसमा उनीहरुलाई प्रभाव पार्ने किसिमका विधि व्यवहारहरु गर्नुपर्छ । उनीहरुलाई लागोस् ओहो, हामी सही स्थानमा, सही देशमा आएछौँ । त्यसका लागि बाजागाजा र साँस्कृतिक झाँकी निरन्तर रुपमा प्रस्तुत गरेर उनीहरुको मन जित्नुपर्छ । त्यसैगरी यसलाई सफल बनाउन नेपाल जाने पर्यटकलाई विमानमा १० देखि १५ प्रतिशत छूटको व्यवस्था गर्नुपर्ने’ उहाँको सुझाव छ ।

उहाँले थप्नुभयो–काठमाडौँ तथा काठमाडौँ बाहिरका होटलहरुमा पनि मूल्य निर्धारण गर्नुपर्ने र उडानहरु नियमित तवरले गर्नुपर्छ ।
भ्रमण वर्षले त्यो वर्ष मात्र होइन,आगामी वर्षहरुलाई पनि प्रभाव पार्ने किसिमको वातावरण सिर्जना गर्नुपर्ने कुरामा उहाँको जोड छ । रिमालको भनाइ छ –फ्रेन्चाइज किसिमका व्यवसायलाई यही मौकामा भित्र्याउन सकेमात्र नेपालको दूरगामी हितमा रहन्छ ।

यसैबीच, वाल्टिमोरस्थित नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिजले आगामी सेप्टेम्वर २२ मा नेपाल भ्रमण वर्षलाई दृष्टिगत गरी सडक महोत्सव गर्ने भएको छ । सो संस्थाका पदाधिकारीहरु यसलाई सफल बनाउन सक्रिय भएर लागेका छन् ।

संस्थाका कावा अध्यक्ष सुवोध विलास पन्त, महासचिव किरण ढकाल र सल्लाहकार जनक पौडेलले आवश्यक सहयोग तथा परामर्शका लागि पर्यटन दूत रिमाललाई भेटेका छन् । उनीहरुले यसलाई सफल बनाउन हरसंभव उपाय गरेका छन् । सडक महोत्सव गर्नुको उद्धेश्य पनि नेपाल भ्रमण वर्षलाई कसरी सहयोग गर्न सकिन्छ भन्नु नै हो अध्यक्ष पन्तको भनाइ छ । उहाँले सकेसम्म प्रधानमन्त्रीलाई बोलाउने प्रयास भइरहेको जानकारी पनि दिनुभयो ।साभार – दुरबिन नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *