बजार

लगातार घटिरहेको नेप्सेमा एक्कासी सुधार आउदा , लगानीकर्ता आशाबादी


साताको दोस्रो कारोबार दिन सोमबार अधिकांश कम्पनीको शेयरमूल्य बढेर नेप्से परिसूचक सकारात्मक बन्दा लगानीकर्ता आशाबादी बनेका छन्। अघिल्लो दिन करिब दोहोरो अंक नजिक घटेर १२१४ बिन्दुमा झरेको नेप्से सूचक सोमबार ७.२३ अंकले बढेर १२२२.०६ बिन्दुमा पुगेको छ भने कारोबार रकम समेत ६ करोड बढीले बढेको छ।

सोमबार कारोबारमा आएकामध्ये १०३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ वटा कम्पनीको शेयरमूल्य घटेको छ। यस दिन २३ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

यसदिन १७५ वटा कम्पनीको १४ लाख ७७ हजार कित्ता शेयर ३८ करोड ९६ लाख रुपैयाँमा खरिद बिक्री भयो। अघिल्लो दिन आइतबार ३२ करोड ९५ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको थियो।

गत आवमा राम्रो प्रगति गरेका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दै जाने हो धने पनि नेप्सेले सकारात्मक मोड लिने देखिन्छ।सूचक तल झर्दा राम्रो मुनाफा आर्जन गरेका कम्पनीहरुको शेयरमूल्य पनि अण्डर भ्यालु भएका छन्। अहिले वाणीज्य बैंकहरुको पनि औसत प्रगति २५ प्रतिशत माथि बढेको छ। कतिपय लघुवित्तका कम्पनीहरुले ५० प्रतिशत धेरैले नाफा बढाएका छन्।सूचीकृत कम्पनीहरुमध्ये लघुवित्त समूहबाट धमाधम गत आवको लाभांश घोषणा थाल्दा लगानीकर्ता यस समूहका शेयरमा आकर्षित भएका छन्।

लगातार चार कारोबार दिन १९ अंकले घटेको सूचक पाँचौं कारोबार दिन नेप्सेसँगै कारोबार रकम बढेर नेप्सेमा हरियाली छाउँदा लगानीकर्ता आशाबादी बनेका छन्। सोमबार कारोवारमा आएका ११ उपसमूहमध्ये १० वटा उपसमूह सकारात्मक देखिए भने एक उपसमूह मात्र नकारात्मक देखिएको छ । यस दिन माइक्रोफाइनान्स उपसमूह सबैभन्दा धेरै १.४३ प्रतिशतले बढेको छ ।

यस दिन सिद्धार्थ बैंकको संस्थापक शेयरको सबभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री हुँदा रसुवागढी हाइड्रोपावरको पनि २ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै एनआइसी एशिया, सोल्टी होटल, कृषि विकास बैंक लगायत ७ वटा कम्पनीको १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

पाँचौं कारोबार दिनमा हरियाली छाएको शेयर बजारमा अधिकांश लघुवित्त कम्पनीको शेयरमूल्य बढेको छ । शेयरमूल्य बढ्ने शिर्ष दश कम्पनीमा सातवटा लघुवित्त कम्पनी रहेका छन्।

सोमबार नाडेप लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ७.५० प्रतिशतले बढेर ५१६ रुपैयाँ पुगेको छ भने सपोर्ट माइक्रोफाइनान्स र आइतबार गत आवको मुनाफाबाट ३५ प्रतिशत बोनस घोषणा गरेको ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंक र महिला सहयात्रा माइक्रोफाइनान्सको शेयरमूल्य ५ प्रतिशतले बढ्दा एभरेष्ट बैंक कन्भर्टेबल प्रिफेरेन्स शेयर, नेपाल सेवा लघुवित्त, सिर्जना फाइनान्स र फरवार्ड कम्युनीटी लघुवित्तको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन सानिमा इक्वीटी फण्डको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ भने जोशी हाइड्रोपावर, युनाइटेड इन्स्योरेन्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स र बरुण हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close