बजार बैंक तथा बिमा

बिमामा सहभागिता उत्सहजनकरुप्म बढ्दै : १९ प्रतिशतमा पुग्यो बिमाकाे पहुँच


काठमाडौँ :- नयाँ कम्पनीको प्रवेश र बढ्दो जनचेतनाको वृद्धिसँगै मुलुकमा बिमा गराउनेको संख्यामा उत्साहजनक वृद्धि भएको छ । बिमा समितिको तथ्यांकअनुसार नेपालमा बिमा गर्नेको संख्या कुल जनसंख्याको १९ प्रतिशत नाघेको छ । गत एकै आर्थिक वर्षमा मात्रै ५ प्रतिशतले बढेको छ । दुई वर्षको तथ्यांक विश्लेषण गर्दा बिमित संख्या दोब्बरले बढेको छ ।

बिमा कम्पनीले संकलन गर्ने प्रिमियम रकममा पनि उच्च वृद्धि भएको छ । आर्थिक वर्ष ०७५/७६ मा ७१ अर्ब ७४ करोड प्रिमियम असुली भयो । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो ।

समितिले केन्द्रीय तथ्यांक विभागले गरेको नेपालको अनुमानित जनसंख्याका आधारमा बिमालेखलाई गणना गरी बिमा पहुँच गणना गरेको हो । तथ्यांक विभागका अनुसार आर्थिक वर्ष ०७५/७६ अन्त्यसम्म मुलुकको जनसंख्याको २ करोड ९४ लाख २७ हजार ९ सय थियो । बिमालेख भने ७५ लाखवटा बिक्री भए । समितिका अनुसार आव ०७३/७४ सम्म बिमा पहुँच ११ प्रतिशत मात्र थियो । आव ०७२/७३ मा १० प्रतिशत थियो ।

अघिल्लो वर्ष समितिले १० वटा नयाँ जीवन बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएपछि प्रतिस्पर्धाका कारण बिमाको पहुँच बढ्न थालेको हो । ‘कम्पनी बढेपछि प्रतिस्पर्धा पनि बढेको छ,’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘नयाँ कम्पनीका साथै पुराना कम्पनीले पनि तीव्र रूपमा व्यवसाय गर्न थालेका छन् ।’

बिमाविज्ञ डा. दामोदर बसौला सर्वसाधारणमा बिमासम्बन्धी चेतना बढेको दाबी गर्छन् । वैदेशिक रोजगारीमा र उच्च अध्ययनका लागि विदेश गएर आउनेहरू बिमामा सचेत भएका छन् । यसले पनि बिमाको पहुँच बढाउनमा सहयोग पुगेको उनको दाबी छ ।

करिब ७५ लाख बिमालेख जारी
गत आर्थिक वर्षसम्म जीवन बिमा कम्पनीले करिब ७५ लाख बिमा योजना जारी गरेका छन् । सो अवधिमा नेपालमा सञ्चालित १९ जीवन बिमा कम्पनीले ७४ लाख ९७ हजार ९ सय ४७ बिमालेख जारी गरे । अघिल्लो आवमा ५२ लाख १६ हजार २ सय ४६ बिमालेख जारी भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष झन्डै डेढ गुणा बढी बिमालेख जारी भयो ।

आर्थिक वर्ष ०७३/७४ मा भने ४५ लाख २ हजार ६७ बिमालेख जारी भएको थियो । बिमा कम्पनीले ०७२/७३ मा ४१ लाख ८३ हजार ७ सय ५० बिमालेख जारी गरेका थिए ।

साढे १६ लाख वैदेशिक रोजगार म्यादी बिमा जारी
बिमा कम्पनीले साढे १६ लाख ६१ हजार १ सय ७ वटा वैदेशिक रोजगार म्यादी जीवन बिमा जारी गरेका छन् । अघिल्लो आव ६ लाख ४८ हजार ८४ वटा मात्र जारी भएको थियो । आव ०७३/७४ मा ६ लाख ४४ हजार १ सय ३ वटा बिमालेख जारी भएको थियो । आव ०७२/७३ मा यो संख्या ९ लाख ३३ हजार ८ सय ७१ थियो ।

५ प्रतिशत बिमालेख दोहोरिए
एकै व्यक्तिले एकभन्दा बढी बिमालेख खरिद गर्ने भएकाले करिब ५ प्रतिशत बिमालेख दोहोरिने गरेको समितिको अनुमान छ । गत आव २ लाख ९१ हजार ८ सय ४२ बिमालेख दोहोरिएको छ । यो संख्या कुल जारी भएका बिमालेख (७५ लाख) बाट वैदेशिक रोजगार म्यादी बिमा (१६ लाख) घटाएर आउने अंकको ५ प्रतिशत हो । अघिल्लो आवमा २ लाख २८ हजार ६ सय ७ वटा दोहोरिएका थिए । त्यस्तै, आव ०७३/७४ मा १ लाख ७८ हजार ४ सय १० र आव ०७२/७३ मा १ लाख ६२ हजार ४ सय ९४ बिमालेख दोहोरिएको समितिले जनाएको छ ।

नयाँ कम्पनीले बढाए बिमित : राजुरमण पौडेल
कार्यकारी निर्देशक बिमा समिति
नेपालमा बिमा पहुँच एकदमै न्यून थियो । त्यसैलाई मध्यनजर गरी बिमा समितिले थप कम्पनीलाई सञ्चालन अनुमति दिएको हो । यो विषय विवादास्पद भए पनि परिणाम भने राम्रो देखियो । नयाँ कम्पनीले नयाँ–नयाँ ठाउँमा गएर बिमा व्यवसाय बढाएका छन् । नयाँ कम्पनीका कारण पुराना पनि जागरुक भएका छन् । यसले बिमा पहुँच बढाउन सहयोग गरेको छ ।

सर्वसाधारणमा चेतना बढ्दै : डा.दामोदर बसौला
बिमाविज्ञ
नयाँ कम्पनीका कारण बिमा व्यवसाय बढेको देखिन्छ । यो स्वाभाविक पनि हो । कम्पनी पनि दोब्बरले बढेको छ । व्यवसाय र बिमा पहुँच पनि दोब्बर बढ्नु नै पर्ने हुन्छ । साथै, बिमाप्रति सर्वसाधारण सचेत पनि भएका छन् । यसले बिमाको पहुँच बढाउन सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *