बजार

कोरोना भाइरसले त्रसित बनाउदै गर्दा एशियाली शेयर बजारमा सुधार


बुधबार एशियाली शेयर बजारका साथै विश्व शेयर बजारमा सुधार देखिएको छ । कोरोना भाइरसले बिगारेको चीनको अर्थतन्त्रलाई सुधार गर्दै आर्थिक नोक्सानीलाई कम गर्नका लागि चीनियाँ सरकारले अतिरिक्त कदम उठाउने अपेक्षासँगै चीन शेयर बजारमा बढोत्तरी देखिएसँगै समग्र एशियाली शेयर बजारले पनि गति पाएको छ ।

यद्यपी कोरोना भाइरसको जोखिम भने कायम नै रहेको छ र हालसम्म यसबाट करिब ५०० जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसका कारण चीनको अर्थव्यवस्थामा त उच्च असर परिरहेको छ नै, साथै चीनका आसपासका देशहरुको समग्र आर्थिक कारोबार पनि उक्त भाइरसका कारण प्रभावित भइरहेको छ । उनीहरु पनि भाइरसको चपेटामा परिरहेका छन् ।

यसैगरी कोरोना भाइरस विरुद्धको खोपको विकासका लागि काम भइरहेको र यसले राहत दिने अपेक्षासँगै विश्व शेयर बजारमा बढोत्तरी देखिएको बताइएको छ । यद्यपी विश्व बजारमा कायम कोरोना भाइरसको डरले शेयर बजारको वृद्धिलाई भने सीमित मात्र बनाएको छ ।

बुधबारको बजारमा एशिया प्यासिफिक शेयर ०.६ प्रतिशतले बढेको छ । यसैगरी चीनियाँ शेयर १.६६ प्रतिशतले बढेको छ भने हङकङको शेयरमा ०.५२ प्रतिशतको बढोत्तरी देखिएको छ ।

अस्ट्रेलियाको शेयर ०.४५ प्रतिशतले बढेको छ । यसैगरी जापानको निक्केई स्टक एक्सचेञ्ज मा १.४२ प्रतिशतको बढोत्तरी देखिएको छ ।

बुधबार एशियाली बजारमा अमेरिकी शेयर भने ०.१२ प्रतिशतले घटेको छ । जबकि मंगलबार एसएण्डपी ५०० इन्डेक्स १.५ प्रतिशतले बढेको थियो भने प्रविधिको वर्चस्व रहेको नास्डाक इन्डेक्स उच्च बिन्दुमा पुगेको थियो ।

बुधबारको सुरुवाती कारोबारमा यूरो स्टोक्स ५० ०.१९ प्रतिशतले घटेको छ भने जर्मनीको डीएएक्स इन्डेक्स ०.०४ प्रतिशत, एफटीएसई इन्डेक्स ०.२९ प्रतिशतले घटेको थियो ।

चीनलगायत अन्य कयौँ मुलुकहरुले यात्रीहरुको आगमनमा प्रतिबन्ध लगाइसकेका छन् । चीनको वुहान प्रान्तमा उक्त भाइरसको प्रभाव सबैभन्दा धेरै रहेको छ । यो गत वर्ष सुरु भएको थियो । यसबाट चीनमा पर्यटक र स्थानीय उत्पादनमा विशेष प्रभाव परेको छ ।

तेलको मागमा कमी
ओपेक र उसका सहयोगी कम्पनीहरुबाट उत्पादनमा अधिक कटौती हुने अपेक्षासँगै अन्तराष्ट्रिय बजारमा तेलको मूल्य करिब १ प्रतिशतले बढेको छ । यद्यपी विश्वव्यापी रुपमा तेलको मागमा कमी आउनसक्ने विश्लेषकहरुको अनुमान रहेको छ । औद्योगिक गतिविधि र हवाई उडानको संख्यामा कमी आएसँगै हालसम्म २–३ लाख ब्यारेल तेलको मागमा कमी आइसकेको छ ।

कोरोना भाइरसको बढ्दो प्रकोपका कारण चीनमा कयौँ देशले यात्रामा प्रतिबन्ध लगाएका छन् । योसँगै विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको देशमा उत्पादन र पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रधाव पार्नुका साथै यसले देशको अर्थतन्त्रलाई नै सुस्त बनाइरहेको बताइएको छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *