अर्थतन्त्र

पाम आयलकाे निर्यात छ महिनामा १३ अर्ब ८९ करोडकाे,


चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको ब्यापार घाटा सुधारिँदै गएको देखिएको पनि बैदेशिक ब्यापार पनि घट्दो क्रममा देखिएको छ।
नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनामा साढे ७ खर्ब रुपैयाँभन्दा धेरैको बैदेशिक ब्यापार गरेको छ यद्यपि गत वर्षको तुलनामा भने वैदेशिक ब्यापार घटेको छ।

गत वर्षको पहिलो त्रैमासमा ७ खर्ब ६९ अर्ब रुपैयाँ बराबरको वैदेशिक ब्यापार गरेको नेपालले चालु आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको वैदेशिक ब्यापार गरेको छ जुन गत वर्षको तुलनामा २.२६ प्रतिशतले कम हो।

भारतले नियार्तमा राेक लगाएकाे पाम आयलको निर्यात बढेकाे बिवरण
विवरणमा सबैभन्दा बढी निर्यात भारतले राेक लगाएकाे र देशमै उत्पादन नहुने पाल्म आयलको भएको देखिन्छ। तर पाम आयल जस्ता बस्तुको निर्यात बढेपनि यस्ता बस्तुहरुको निर्यात दिगो भने नहुने विज्ञहरु बताउँछन्। सरकारले फेरि पाल्म आयलकाे निर्यात खाेल्न भारतसँग पहल गरेकाे छ ।

यस अवधिमा १३ अर्ब ८९ करोड रुपैयाँभन्दा धेरैको पाम तेल निर्यात भएको छ। तर पछिल्लो समय भारतले पाम तेलको निर्यातमा रोक लगाएसँगै यसको हिस्सा घट्ने देखिन्छ जसले समग्र निर्यातलाई घटाउनेछ।

गत वर्षको यसै अवधिमा २ अर्ब ३४ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएकोमा समीक्षा अवधिमा यसको निर्यात झण्डै ११ अर्ब रुपैयाँले बढेको देखिन्छ।

त्यस्तै दोस्रो त्रैमाससम्ममा १ अर्ब २२ करोड रुपैयाँ बराबरको अलैंचि निर्यात भएको छ।

आयाततर्फ पनि औद्योगिक बस्तुहरुको आयात घट्दा देशमा औद्योगिक बस्तुहरुको उत्पादन कम हुन थालेको देखिन्छ जुन अर्थतन्त्रको लागि राम्रो होइन। उपभोग्य वस्तुको आयातमा कमी नहुनु तर औद्योगिक वस्तुको आयातमा कमी देखिनुले अर्थतन्त्र मन्दीतर्फ गएको त होइन भन्ने प्रश्न उठ्ने गरेको छ ।

नेपालमा भित्रिने फलाम र स्टीलमात्र होइन, एयर क्राफ्टका सामानहरू, गाडी, इन्धनको पनि आयात घटेको भन्सार विभागको बिवरणमा उल्लेख छ। इन्धनको आपूर्ति कम हुनुमा नेपालमा बिजुलीको आपूर्ति बढ्नु प्रमुख कारण हो भने गाडी आयातमा भएको कमी आाउनु दाेस्राे कारणा हाे।

गत वर्षको दोस्रो त्रैमासमा १८ अर्ब रुपैयाँभन्दा धेरैको पेट्रोल आयात भएकोमा यस वर्ष ९ अर्ब ४९ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ भने डिजेल आयात ५५ अर्ब १३ करोडबाट घटेर १२ अर्ब ५३ करोडमा झरेको छ।

गत वर्षको यसै अवधिमा ७८ अर्ब ६७ करोड रुपैयाँ बराबरको आइरन र स्टील आयात भएकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ५५ अर्ब ७९ करोड रुपैयाँको आइरन र स्टील आयात भएको छ।

निर्यात बढ्दै, आयात घट्दै
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्ष निर्यात बढेको छ भने आयात घट्दै गएको छ। गत वर्षको तुलनामा देशभित्र भित्रिने वस्तुको आयात घटेर बाहिरिने वस्तुको निर्यात बढ्दा व्यापार घाटा कम हुन पुगेको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आयात ४.०४ प्रतिशतले घटेको छ भने निर्यात २६.१३ प्रतिशतले बढेको छ। पहिलो त्रैमासमा आयात १०.३४ प्रतिशतले घटेको थियो भने निर्यात १४.४१ प्रतिशतले बढेको थियो।

गत वर्षको दोस्रो त्रैमासमा ७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको मात्र वस्तु तथा सेवा आयात भएको छ ।

त्यसैगरी निर्यात ४५ अर्ब रुपैयाँ रुपैयाँबाट बढेर ५७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

व्यापार घाटा घट्दै
भन्सार विभागले सार्वजानिक गरेको पहिलो ६ महिनाको विवरण अनुसार गत वर्षको तुलनामा व्यापार घाटा ६.०६ प्रतिशतले घटेको छ। तर पहिलो त्रैमासको तुलनामा भने यो कम हो। पहिलो त्रैमासमा ब्यापार घाटा १२ प्रतिशतले घटेको थियो।

वस्तु तथा सेवाको आयात घटेर निर्यात बढ्दा व्यापार घाटा समेत सुधारिदै गएको हो।

गत वर्षको दोस्रो त्रैमासमा मुलुकले ६ खर्ब ७८ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेकोमा यस वर्षको सोहि अवधिमा ६ खर्ब ३७ अर्ब रुपैयाँको मात्र व्यापार घाटा व्यहोरेको छ।

गत वर्षको तुलनामा कुल ब्यापारमा निर्यातको हिस्सा ५.९ प्रतिशतबाट बढेर साढे ७.६ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ९४.१ प्रतिशतबाट घटेर ९२.४ प्रतिशतमा झरेको छ।

भरतसँग सबैभन्दा धेरै व्यापार घाटा
मुलुकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा छिमेकी राष्ट्र भारतसँग सबैभन्दा धेरै व्यापारघाटा व्यहोरेको छ। यस अवधिमा नेपालले भारतसँग मात्रै ३ खर्ब ८३ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको हो ।

त्यसैगरी नेपालले अर्को छिमेकी राष्ट्र चीनसँग पनि ठूलो व्यापार घाटा व्याहोनु परेको छ । नेपालले चीनसँग १ खर्ब १७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ भने इन्डोनेशियासँग २० अर्ब ११ करोड, अरबसँग १० अर्ब २३ करोड, अमेरीकासँग ४ अर्ब ९२ करोड र क्यानडासँग ६ अर्ब ५८ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close