जीबन र जगत

सुखी र खुसी जीवनको स्रोत, प्रकृति


आधुनिकताको नाममा हामी यसरी सुविधाभोगी बन्दैछौ कि, हामीलाई आफ्नै इन्दि्रयहरुको प्रयोग गर्न पनि जाँगर चल्न छाडिसकेको छ । सामान्य हिसाब-किताब निकाल्न हामी मस्तिष्क चलाउँदैनौ, क्याल्कुलेटर दबाउन थाल्छौं ।

सुख-सुविधाको यो आशक्तिले हामी आफ्नै शरीरको महत्व र मूल्य पनि बिर्सिरहेका छौं । हाम्रो शरीर कति अनमोल छ, कति रहस्यमयी छ, कति शक्तिशाली छ भन्ने कुरा भुलिसकेका छौं । किनभने हामी आफुभित्र खोज्नुपर्ने कुरा भौतिक दुनियामा खोजिरहेका छौं । त्यसैले त हामीले आज भौतिक सुविधा पाएका छौं, तर त्यसबाट सुखानुभूत गर्न सकिरहेका छैनौं । हामी ऐश-आरम त खोजिरहेका छौं, तर मन बेचैन छ ।

बस्नका लागि हामीलाई आरमदायक ठाउँ चाहिन्छ । त्यो पनि वताअनुकुलित । कोठा-कोठालाई कृतिम रुपले वताअनुकलित बनाएका छौं ।

खानका लागि हामीलाई थरीथरीका व्यञ्जन चाहिन्छ । त्यो पनि बेमैसमी । गाँस-गाँसमा तारेको, भुटेको, तयारी अवस्थाको खानेकुरा खाइरहेका छौं ।

यसको सोझो अर्थ के हो भने, हामी प्राकृतिक जीवनशैलीबाट विमुख हुँदैछौं । प्रकृतिबाट टाढा हुँदैछौं । यसको साइड इफेक्ट त हाम्रो शरीर, समाज सबैतिर परिसकेको छ । अप्राकृतिक जीवनशैलीका कारण आज हामी शरीरलाई अनेकन रोगको भण्डार बनाइरहेका छौं । हामी दिनदिनै रोगी, जिर्ण हुँदैछौं ।

अहिले अस्पतालमा रोगीको संख्या बढेको बढ्यै छन् । यसरी रोग बोकेर अस्पताल पुग्नेहरुमा धेरैजसो खराब जीवनशैलीका शिकार भएका छन् । कसैलाई मधुमेह छ, कसैलाई उच्च रक्तचाप । कसैलाई थाइराड त कसैलाई उच्च कोलोस्टोर । कसैलाई डिप्रेसन छ, कसैलाई अनेक किसिमको मानसिक रोग । क्यान्सर जस्ता घातक रोग पनि अहिले खराब जीवनशैलीकै कारण बढिरहेको छ ।

हामीलाई त लाग्छ, प्रकृतिलाई जितेर समुन्नत जीवन प्राप्त हुन्छ । तर, प्रकृतिलाई जितेर होइन, प्रकृतिसँग एकाकार भएर हामीले शान्त, सुखी, निरोगी, उन्नत जीवन प्राप्त गर्ने हो । किनभने सुख, स्वस्थ्य, खुसी, शान्ति सबै कुराको भण्डार भनेको प्रकृति नै हो । हाम्रो खुसीको स्रोत हो, प्रकृति । हाम्रो सुखको स्रोत हो, प्रकृति । हाम्रो जीवनको स्रोत हो, प्रकृति ।

दुःखलाग्दो चाहि के भने, आज त्यही प्रकृतिबाट विमुख भएर हामी सुख र खुसी खोजिरहेका छौं । त्यही कारण त यी तत्व हाम्रो लागि मृगतृष्णा बनिरहेको छ ।

खुसी र सुखको सर्वोत्तम स्रोत

जीवनबाट वास्तवमै आनन्द लिने हो । जीवनको मूल्य र महत्वलाई बुझ्ने हो । जीवनको खुसी र सुख अनुभूत गर्ने हो भने प्रकृति नै हाम्रो लागि सर्वोत्तम स्रोत हुनेछ । हामी जति जति प्रकृतिसँग लय मिलाउने छौं, जीवन उत्तिनै सुखी र खुसीपूर्वक वित्नेछ ।

अब प्रश्न उठ्छ, प्रकृतिसँग कसरी एकाकार हुने ? कसरी लय मिलाउने ?

आजको भौतिक युगमा हामी पूर्णत प्रकृतिसँग एकाकार हुन संभव नहोला । यद्यपी जीवनलाई प्रकृतिमैत्री बनाउन सकिन्छ । र, अहिलेको अवस्थामा यति नै काफी पनि छ ।

जस्तो खानपानकै कुरा गरौं । प्रकृतिले अनेक कुरा दिएका छन्, जो शरीरका लागि अति आवश्यक र महत्वपूर्ण छ । प्रकृतिले हामीलाई अनेक स्वादका अन्न, सागपात, फलफूल दिएका छन् । ति खानेकुरा हाम्रो शरीरको आवश्यक्ता हो । हाम्रो शरीरको माग हो ।

जैविक विधी एवं प्राकृतिक रुपमा उत्पादित यी खानेकुराले शरीरलाई उर्जावान राख्छ । निरोगी राख्छ । जब हामी निरोगी हुन्छौं, तन्दुरुस्त हुन्छौं, हामी खुसी र सुखी पनि हुन्छौं ।

प्रकृतिले हरेक मौसम र भूगोल अनुसार खानेकुरा उत्पादन गर्छ । यसरी मौसमी चक्र अनुसार उत्पादित खानेकुरा नै हाम्रो लागि सर्वोत्तम भोजन हो । अर्थात मौसमी खानेकुरा नै बढी उपयुक्त हुन्छ । अहिले वेमौसमी खेतीबाली लगाउने प्रचलन छ । वेमौसमी खेतीबालीबाट उत्पादित बस्तु स्वास्थ्यमैत्री हुँदैन ।

अक्सर प्रकृतिले दिएका खानेकुरा काँचो वा उसिनेर खान सकिन्छ । संभव भएसम्म ति खानेकुराहरु काँचो वा उसिनेर खानु उपयुक्त हुन्छ । स्वादको चक्करमा फसेर अनेक किसिमको अखाद्य तत्व मिश्रण गर्ने साथै त्यसलाई तारेर, भुटेर सेवन गर्ने कुरा राम्रो होइन ।

खानपानको कुरामा मात्र होइन, दिनचर्याको कुरामा पनि हामी प्राकृतिमैत्री बन्न सक्छौं । प्रकृतिले शरीरको सक्रियता र निस्त्रिmयताको लागि निश्चित समय दिएको छ । जब सूर्योदय हुन्छ, हाम्रो शरीर जागरुक हुनुपर्छ । सक्रिय हुनुपर्छ । चलयामान हुनुपर्छ । र, रातको समयमा शरीरलाई विश्रामको आवश्यक हुन्छ ।

उठ्ने, सुत्ने, बस्ने, खाने, हिँड्ने, कुद्ने सबै कुरा हाम्रो दिनचर्यामा नियमित हुनुपर्छ ।

प्रकृतिमैत्री जीवन

अहिले हामी रातभर जाग्ने र बिहानभर सुत्ने गर्छौं । यो भनेको प्रकृतिमैत्री जीवन होइन । शरीर जागरुक र सक्रिय हुनुपर्छ । शरीर जति सक्रिय एवं चलयामान हुन्छ, उत्तिनै हामी निरोगी हुन्छौं । फूर्तिला हुन्छौं । तर, शरीरलाई विश्राम पनि चाहिन्छ । निश्चित अवधी हामीले विश्राम गर्नैपर्छ । शरीरले विश्रामको बेला पनि कतिपय काम गरिरहेको हुन्छ ।

विश्वमा लामो आयु बाँच्ने र लामो उमेरसम्म पनि निरोगी रहनेहरुमा जापानी पर्छन् । जापानको पनि कुनै विशेष भेगका मानिसहरु सय बर्षभन्दा बढी उमेरसम्म बाँच्छन् । र, त्यो उमेरसम्म पनि उनीहरु उत्तिकै जोशिला, जाँगरिला हुने गर्छन् ।

उनीहरु कसरी यत्तिका उमेरसम्म बाँचे, कसरी जाँगरिला भए, कसरी निरोगी भए ? यस सम्बन्धमा खोज अनुसन्धान भइरहेको छ, निरन्तर । र, ति अध्ययनहरुको निचोडले भन्छ, उनीहरु एकदमै सक्रिय जीवन विताउँछन् । धेरैजसो खेतीबालीको काम गर्छन् । प्राकृतिक जीवनशैलीमा आफुलाई अभ्यस्त गराउँछन् ।

उनीहरुको खानपान र जीवनशैली नियाल्दा थाहा हुन्छ, उनीहरु प्रकृतिमैत्री छन् ।

प्रकृतिसँग हामी जति लय मिलाउन सक्छौं, उत्तिनै खुसी पनि प्राप्त गर्न सक्छौं । प्रकृतिले हामीलाई स्वस्थ्य जीवन मात्र होइन, स्वस्थ्य खुसी पनि दिन्छ ।

प्राकृतिक एवं मौसमी खानेकुरा सेवन गर्ने, खेतीबालीमा सक्रिय हुने, बोट-बिरुवा रोप्ने एवं हुर्काउने, बगैंचामा समय विताउने जस्ता अनेक गतिविधिबाट पनि हामी प्रकृतिसँग नजिक हुन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *