कृषि

यूके जान छाडेर खाडीमा तरकारी बेच्ने सपना


४ माघ, बुटवल । बुबा बेलायती सेनाका अवकाशप्राप्त लाहुरे भएकाले भैरहवाका आशा गुरुङसँग पनि यूके (बेलायत) को ग्रीन कार्ड छ । आमा बेलायतमै बस्छिन् । भाइ यसै वर्ष बेलायत जाने तयारीमा छन् । तर, ४८ वर्षीय आशा बेलायत गएर आरामदायी जीवन बिताउन चाहँदैनन् । उनलाई नेपालमै बसेर केही गर्न मन छ ।

जर्मनीको हेम्बर्गमा तीन वर्ष रोजगारी गरेर फर्किएका आशालाई बेलायतभन्दा नेपालमै बसेर कृषि क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्यो । र, उनी यही कर्ममा लागेका छन् अहिले ।

कुनै समयका भैरहवाका चर्चित डीजे एवं क्रिकेट संघका केन्द्रीय सदस्यसमेत भैसकेका उनलाई श्रीमती र परिवारले माटोसँग खेल्नुपर्नेे खेतीपातीको काममा हात नहाले हुन्थ्यो भनेर धेरै सम्झाए । तर, उनले माननेन् ।

जर्मनीबाट फर्किएपछि चार वर्षसम्म नर्सरी व्यवसाय र त्यसपछि रियल स्टेट कारोबार गरेका गुरुङलाई श्रीमती र परिवारको चाहनाविपरीत आफ्नै देशको माटोमा काम गर्न र रमाउन मन लाग्यो । त्यसपछि उनले अर्गानिक तरकारी र फलफूल खेती गर्ने निधो गरे ।

गुरुङले ८ महिना खर्चेर रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पा तथा भारतको चण्डीगढ, हिमाञ्चल, महाराष्ट्रमा रहेका चारसय कृषि फर्मको प्रत्यक्ष अवलोकन गरे । अध्ययनपछि उनले भैरहवाको मेउडिहवा चोकदेखि दुई किलोमिटर पश्चिम भुजौली गाउँमा ७ बिघा खेतमा आधुनिक मल्टिफार्मिङ अवधारणामा ‘लुम्बिनी अर्गानिक फर्म एण्ड रिसर्च सेन्टर’ स्थापना गरेका छन् ।

जर्मनीबाट फर्किएपछि चार वर्षसम्म नर्सरी व्यवसाय र त्यसपछि रियल स्टेट कारोबार गरेका गुरुङलाई श्रीमती र परिवारको चाहनाविपरीत आफ्नै देशको माटोमा काम गर्न र रमाउन मन लाग्यो
पक्लिहवा माविको जग्गा २० वर्षका लागि लिजमा लिएर हालसम्म दुई करोड लगानी भइसकेको उनको फार्ममा तीनवटा छुट्टाछुट्टै प्लट छन् । दुई किलोमिटर दुरीमा तारबार गरिएको फार्मको एउटा प्लटमा २८ थरि फलफूलका ५ हजार बिरुवा हुर्कंदैछन् । अर्को प्लटमा २१ थरि तरकारीको खेती छ । अर्को प्लटमा बाख्रा, लोकल कुखुरा र हाँस पाल्न आधुनिक खोर तथा माछा पाल्नका लागि पोखरीहरु बन्दैछन् ।

शुरुमा पाँचजनाले मिलेर गर्ने तयारी भए पनि तीन जनाले छाडेपछि आशा र रामप्रसाद खनालको मात्रै फार्ममा लगानी छ । तर, फार्मको नेतृत्व, व्यवस्थापन र रेखदेख आशाले नै गरेका छन् । हरेक दिन उनी चार घण्टा फार्ममा काम गर्छन् ।

उनको फार्ममा हाल ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बाख्रा, माछा, हाँस र कुखुरा फार्म पूर्णरुपमा सञ्चालनमा आउँदा २५ जनाले रोजगारी पाउने उनी बताउँछन् ।

अष्ट्रेलियन नानो स्याउ, स्ट्राबेरीदेखि ड्रागन फ्रुटसम्म

फार्ममा बेमौसममा फल्ने र बिरलै पाइने प्रजातिका फलफूल लगाइएको छ । अष्ट्रेलियन जातको नानो स्याउका ६ सय विरुवा छन् । यो जातको स्याउ अरु स्याउको सिजन सकिएपछि तयार हुन्छ । अहिले फुल्न शुरु गरेका स्याउले अर्को वर्ष पुसदेखि उत्पादन दिने गुरुङ बताउँछन् ।

‘यो वर्ष फूल देखिइसकेको छ, अर्को वर्ष पुससम्म फल्छ’, गुरुङले अनलाइनखबरसँग भने, ‘हामीले खेती गरेका २८ जातकै फलफूल अर्गानिक र बेमौसममा फल्ने हुन् ।’

फार्ममा ड्रागन फ्रुटका १५ सय बिरुवा लगाइएको छ भने आँपका ६ सय बिरुवा हुर्कंदैछन् । मेवा र केराका तीन/तीन हजार बोट छन् । त्यस्तै स्ट्राबेरीका ४ हजार पाँच सय बिरुवा छन् । स्ट्राबेरीको व्यवसायिक खेती काठमाडौं र बिराटनगरपछि भैरहवामा गुरुङले भित्र्याएका हुन् । स्ट्राबेरीले उत्पादन दिन थालेको र करिब एक हजार किलो विक्री भइसकेको गुरुङले बताए । स्ट्राबेरी प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री भएको गुरुङले बताए ।

‘फार्मबाटै खोसाखोस भयो’, गुरुङ भन्छन्, ‘भविश्यमा वार्षिक ८ हजार किलो स्ट्राबेरी उत्पादन गर्नेे लक्ष्य छ । त्यसैगरी फार्ममा एप्पल बयर, वाटर, एप्पल, एबोकार्डो, सरिफा, सिडलेस लिची, थाई कागती, नासपाती, अमला, पहाडी उखु, कागती, गोल्डेन लेमन, ब्लु बेरी, मलबेरी, रसबेरी, नागपुरे सुन्तला, बाह्रै महिना फल्ने बंगलादेशी जातको कटहर, अनार, जमुना, पिच, चिकु, मौसमी लगायत २८ जातका फलफूलका पाँच हजार बिरुवा लगाइएका छन् ।

पाँच हजार फलफूलका बिरुवामा स्वचालित प्रणालीबाट एकसाथ थोपा सिँचाई गर्ने व्यवस्था मिलाइएको छ ।

तरकारीमा कोरियन फर्सीदेखि चाइनिज सागसम्म

गुरुङको फार्ममा कोरियन फर्सी, चाइनिज साग, चकुन्दर, पर्पल बन्दासहित चार जातका बन्दा, फूल गोभी, लेटस, आइस लेटस, थाई ग्रीन भान्टा, गान्टे मुला, भिन्डी, क्याप्सिकम, सिमी, गोलभेंडा, लसुन, प्याजलगायत २१ जातको तरकारी खेती गरिएको छ ।

यहाँ उत्पादन हुने चाइनिज साग र लेटस, आइस लेटस तारे होटलहरुमा विक्री हुन्छ । तरकारी खेतीका लागि १०८ वटा ड्याम बनाइएको छ । तरकारीका जात अनुसार छुट्टाछुट्टै ड्याममा फरक–फरक तरकारीको खेती गरिन्छ ।

‘हामीले रिसर्चका रुपमा अहिले २१ जातका तरकारी खेती गरेका हौं’, गुरुङले भने, ‘सबै जात सफल भएका छन्, अब बजारको माग अनुसारका जातको खेती गर्छौं ।’

फलफूल र तरकारीमा प्रांगारिक मल मात्रै प्रयोग हुन्छ । वार्षिक २५ हजार किलो मल खपत हुने गुरुङ बताउंछन् । बिरुवामा रोग लाग्न नदिन आफंैले तयार गरेको जैविक विषादी प्रयोग गरिएको गुरुङ बताउँछन् ।

प्रदेश र स्थानीय सरकारको अनुदान

मल्टि फार्मिङ अवधारणामा तरकारी, फलफूल र पशुपंक्षी पालन एकै थलोमा गरेर नमूना कृषि उद्यमको उदाहरण बनेको भन्दै गुरुङको फार्मलाई प्रदेश ५ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १२ लाख ५० हजार र सिद्धार्थनगर नगरपालिकाले २ लाख ५० हजार अनुदान दिएका छन् ।

‘कृषि मन्त्रालयका सचिव यमनारायण देवकोटा आफैं फार्ममा आएर ज्यादै राम्रो काम गरेको भन्दै हौसला बढाइदिनुभयो’, गुरुङले अनलाइनखबरसँग भने, ‘उहाँले नै अनुदानका लागि प्रकृयाबारे जानकारी दिनुभयो ।’

प्रदेश सरकारसँगै सिद्धार्थ नगरपालिकाकाले पनि अनुदान दिएर काम गर्न उत्साहित बनाएको गुरुङ बताउँछन् ।

शुरुमा परिवारले यो काम नरुचाए पनि प्रदेश र स्थानीय सरकारले अनुदान दिएपछि परिवारले पनि राम्रो काम रहेछ भनेको र आफूलाई सन्तुष्टि मिलेको गुरुङ बताउँछन् ।

‘भैरहवामा यति ठूलो अर्गानिक फार्म स्थापना हुनु नगरपालिकाका लागि गौरवको विषय हो’, नगर प्रमुख हरिप्रसाद अधिकारीले भने, ‘यो फार्मलाई सिद्धार्थनगरकै गहनाका रुपमा विकास गर्न हामी आगामी दिनमा पनि सहयोग गर्छौं ।’

अनुदान हैन, प्राविधिक सहयोग चाहियो

नेपालमै नमूना मल्टी फार्मिङ गरिरहेका गुरुङ सरकारबाट आर्थिक अनुदान भन्दा पनि आधुनिक प्रविधि किसानलाई दिनुपर्ने मान्यता राख्छन् । अहिले पनि सरकारले किसानले चाहेअनुसार आधुनिक प्रविधि भित्र्याउन नसकेको गुरुङको ठम्याइ छ । ‘आधुनिक प्रविधिबाट मात्रै गुणस्तरीय बीउ, मल र उपचार हुन सक्छ र उत्पादन बढाउन सकिन्छ’, गुरुङले अनलाइनखबरसँग भने, ‘सरकारको ध्यान अनुदान बाँड्ने भन्दा पनि प्राविधिक सहयोग र अनुसन्धानमा जानुपर्छ ।’

अस्टे«लियन जातको स्याउ भैरहवामा फल्दा र फार्म पूर्णरुपमा सञ्चालनमा आउंदा मल्टि फार्मिङमा यो देशकै नमूना बन्ने प्रदेश ५ सरकारकी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् ।

‘यो फर्मले साच्चिँकै नमूना काम गर्दैछ’, मन्त्री पौडेलले भनिन्, ‘राम्रो गर्नेलाई प्रदेश सरकारले अनुदान मात्र हैन, प्रविधिमा पनि सहयोग गर्छ ।’
‘अर्गानिक खेतीबारे निःशुल्क सिकाउँछौं’

गुरुङले भविश्यमा आफैंले मात्र अर्गानिक खेती गर्ने नभई धेरैभन्दा धेरै युवा–किसानलाई आफूजस्तै बनाउन चाहन्छन् । ‘मैले एक्लै गरेर मात्र पुग्दैन, सयौं–हजारौंजनाले यस्तै अर्गानिक खेती गर्नुपर्छ’, गुरुङ भन्छन्–‘अर्गानिक खेती गर्न चाहने सबैलाई जति समय लागे पनि फार्ममै निःशुल्क सिकाउँछौं ।’

फार्ममा ड्रागन फ्रुटका १५ सय बिरुवा लगाइएको छ भने आँपका ६ सय बिरुवा हुर्कंदैछन् । मेवा र केराका तीन/तीन हजार बोट छन् । त्यस्तै स्ट्राबेरीका ४ हजार पाँच सय बिरुवा छन्
वार्षिक तीन लाख किलो तरकारी र पाँच हजार किलो फलफूल तथा ४ लाख ५० हजार तरकारीका बेर्ना उत्पादन गर्ने फार्मको लक्ष्य रहेको गुरुङ बताउँछन् । फार्म पूर्णरुपमा सञ्चालनमा आइसक्दा वार्षिक दुई करोडको तरकारी र फलफूल विक्री हुने गुरुङको दाबी छ ।

उनी भन्छन्,‘जनताको स्वस्थ जीवनका लागि अर्गानिक उत्पादनलाई सरकारले पनि बढवा दिनुपर्ने हो, तर दिएको छैन ।’

फार्ममा वार्षिक १० हजार किसान–युवा उद्यमीलाई भ्रमण गराएर अर्गानिक खेतीमा आकर्षित गर्ने लक्ष्य गुरुङको छ । तरकारीका बेर्ना पर्याप्त मात्रामा उत्पादन गरी सुलभ दरमा उपलब्ध गराएर घर–घरका करेसाबारीमै अर्गानिक तरकारी फलाउन प्रेरित गर्ने आफ्नो उद्देश्य रहेको उनी बताउँछन् ।

अर्गानिक तरकारी र फलफूल दुई घण्टामा खाडी पुर्‍याउने दाबी

भैरहवाबाट सिधा अन्तराष्ट्रिय उडान शुरु भएसँगै फार्ममा उत्पादन हुने अर्गानिक तरकारी र फलफूल दुई घण्टामै खाडी राष्ट्रहरु कतार, यूएई, मलेसिया पुर्‍याउन सकिने गुरुङको आशा छ ।

‘हाम्रो उत्पादन पूर्णतः अर्गानिक हुन्छ, सरकारले गुणस्तर प्रमाणीकरण र निर्यातमा सहयोग गर्‍याे भने खाडी देशमा प्रशस्त मात्रामा निर्यात गर्ने सम्भावना देखेका छौं’, गुरुङले भने ।

फार्मसँगै भैरहवामा उनका दुई छोराले चारतारे स्तरको होटेल पनि सञ्चालनको तयारी गरेका छन् । होटेलमा आफ्नै फार्मको अर्गानिक तरकारी, माछा मासु र फलफूलको स्वाद आन्तरिक र वाह्य पर्यटकलाई पस्कने गुरुङले योजना सुनाए । Nepalkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *