अर्थतन्त्र

कच्चा तेलको मूल्यमा उच्च वृद्धि


अमेरिका–ईरानका बीच जारी तनावग्रस्त अवस्थाका कारण शुक्रबार विश्व बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ । ईरानको बग्दाद हवाई अड्डामा अमेरिकी सेनाद्धारा गरिएको मिसाइल आक्रमणमा ईरानका उच्च कमाण्डर मारिएसँगै यसको प्रत्यक्ष असर कच्चा तेलको मूल्यमा पर्न गएको बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै यसको प्रत्यक्ष असर विश्व बजारको तेल कम्पनीहरुमा देखिने भएको छ ।

शुक्रबार ब्रेन्ट क्रुड ४.४ प्रतिशतले बढेर प्रतिब्यारेल ६९.१६ डलर पुगेको छ । यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्ल्यूटीआई) ४.३ प्रतिशतले बढेर प्रतिब्यारेल ६३.८४ डलर पुगेको छ । यसको प्रत्यक्ष प्रभाव विश्वका अधिकांश देशहरुमा पर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य बमोजिम नेपालमा पनि कच्चा तेलको मूल्य समायोजन हुने गर्दछ । यसैगरी भारतले अरेबियन देशका साथै ईरानसँग पनि कच्चा तेलको आयात गर्ने र नेपाल भारतसँग कच्चा तेलका लागि निर्भर भएकाले भारतमा पर्ने प्रभावसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने देखिएको हो ।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरी मूल्य समायोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *