अर्थतन्त्र

अर्थतन्त्रमा रेमिट्यान्सको आप्रवाह ०.३% अनुपातले घट्यो,


चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) आप्रवाह ०.३ प्रतिशले घटेको छ। अघिल्लो वर्षको यहि अवधीमा ३३.४ प्रतिशतले बढेको रेमिट्यान्स ०.३ प्रतिशतले घटेर १५३ अर्ब ७३ करोड रुपैयाँ मात्रै भित्रिएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा भदौ सम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले कमी आएको छ ।

गत आर्थिक वर्ष यस्तो आप्रवाह २३.३ प्रशितले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले वृद्धि भएर १७६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधीमा यस्तो प्राप्ति ३४.१ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजागारीमा जानेको संख्या समीक्षा अवधीमा ०.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यहि अवधीमा यस्तो संख्या ३९ प्रतिशतले घटेको थियो।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा वर्षमा १०.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधीमा यस्तो सङ्ख्या ९.८ प्रतिशतले बढेको थियो।
आर्थिक वर्ष २०७६/०७७ को भदौमा चालू खाता ८ अर्ब ८३ करोड घाटामा रहेको छ।

अघिल्लो वर्ष यस्तो घाटा ३५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो। यस्तै शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ। अमेरिकी डलरमा अघिल्लो वर्षको शोधनान्तरस्थिति २३ करोड ९ लाख रुपैयाँले घाटामा रहेकोमा समिक्षा अवधीमा ७ करोड ८५ लाखले बचतमा रहेको छ।

समिक्षा अवधिमा पूँजीगत ‘ट्रान्सफर’ २ अर्ब ९६ करोड र प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ९८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर २ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब २३ करोड रुपैयाँ रहेको थियो।

विदेशी विनिमय सञ्चितिले साढे नौं महिनाको वस्तु आयात धान्न सकिने
आर्थिक वर्ष २०७६/०७७ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।यस अवधिमा कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १० खर्ब ३८ अर्ब ९२ करोडबाट वृद्धि भएर भदौ मसान्तमा १० खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ भदौ मसान्तमा सम्ममा ९ अर्ब ४४ करोड रहेको छ।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ भदौ मसान्तमा ९ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ भदौ मसान्तमा १ खर्ब ४६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

२०७६ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३१.१ प्रतिशत, ६९.६ प्रतिशत र ३०.२ प्रतिशत रहेका छन् ।२०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *